विजयी भएको तीन दिनपछि लिङ्देनलाई रवीन्द्र मिश्रको बधाई

पछिल्लोपटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दु राष्ट्र’ एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाई दिएका छन् ।

राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाई दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रोब्लगिङ साइट ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाई दिएका हुन् ।

कमल थापाको विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए । मिश्र पछिल्लोपटक आफ्ना हरेक अभिव्यक्तिमा तत्कालीन राजाहरू पृथ्वीनारायण शाह र महेन्द्र शाहको नाम छाड्दैनन् । महेन्द्र राष्ट्रवादी भन्न उनी धक मान्दैनन् । 

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका मिश्रलाई पछिल्लोपटक ‘दक्षिणपन्थीको बात’ लाग्ने गरेको छ । यद्यपि, उनले सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेका छैनन् ।

तर, मिश्रले लिङ्देनलाई बधाई दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शब्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत नरम परम्परावादी समाज रहेको दाबी गरेका छन् ।

जबकि, राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य तथा तीसँग जोडिएका २०४६ र २०६२/६३ को जनआन्दोलनले नेपाली समाज अग्र रुपान्तरणकारी बाटोमा रहेको पुष्टि गर्छ । जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक बनेको विश्लेषकहरूको मत छ ।



नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले अगाडि भनेका छन्, ‘राजनीतिक/सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन ।’

उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्नेु दाबी गरेका छन्। मिश्रले भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।’



उनको यो अभिव्यक्तिलाई राप्रपाको एजेण्डासँग जोडिएर पनि हेर्न थालिएको छ । फेसबुकमा राजकुमार आचार्यले मिश्रमाथि टिप्पणी गरेका छन्, ‘अब पार्टी एकता गर्नुस् । धेरै राष्ट्रवादी विचारहरू मिल्छ ।’ 

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ११:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया