कांग्रेस महाधिवेशन : एक्लाएक्लै जाँदा संस्थापनइतरलाई मुस्किल

नेपाली कांग्रेसको संस्थापनइतर पक्षलाई महाधिवेशन हुन तीन दिन बाँकी छँदासम्म साझा उम्मेदवार घोषणा गर्न मुस्किल परेको छ । १६ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै इतर पक्षका शीर्ष नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘चाँडै हामी साझा उम्मेदवार दिन्छौं ।’

उनले साझा उम्मेदवार तयार गर्ने भनेको तीन महिना बित्यो । उम्मेदवारको भने हालसम्म टुंगो लाग्न सक्छ । उम्मेदवार टुंग्याउनका लागि पौडेल समूहबीच आज दिउँसो चाक्सीबारीमा छलफल हुँदैछ ।  

नेता जीवन परियारका अनुसार छलफलमा पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायत हुनेछन् ।  उनीहरूमध्येका नेता सिंह र डा. कोइराला सभापतिको दौडमा निस्किसकेका छन् । 

उनीहरू सभापति पदको दौडबाट पछि नहट्ने दृढ अडानमा छन् । महामन्त्री शशांकले पनि संखुवासभा पुगेर सभापतिको बलियो प्रतिस्पर्धी भएको बताइसकेका छन् । वरिष्ठ नेता पौडेल त उम्मेदवारको मुख्य आकांक्षी नै हुन् । 

तर, उनीहरूले बुझिसकेका छन्, कि एक्लाएक्लै उम्मेदवार बन्दा सभापति हुनबाट शेरबहादुर देउवालाई रोक्न सकिँदैन । त्यही भएर उनीहरू साझा उम्मेदवार टुंगो लगाउन लगातार हिजो र आज छलफलमा जुटेका हुन् । 

इतर पक्षबाट केन्द्रीय सहमहामन्त्री पदमा आज उम्मेदवार घोषणा गरेका परियारले भने, ‘एक्लाएक्लै अघि बढ्दा सफल हुँदैनौँ भन्ने बुझाइ हामीमा छ । आज दिउँसो हामी छलफलमा जुट्दैछौँ, आजको बैठकबाट हामी सम्भवतः साझा उम्मेदवार तयार गर्छौं ।’ 



देउवामा तागत भरिदिएको जिल्ला र प्रदेश अधिवेशन 

वडा अधिवेशन १८ भदौमा गरेर कांग्रेस १४ औं महाधिवेशनमा प्रवेश गरेको हो । यसबीचमा ६१ जिल्ला र ६ प्रदेशको अधिवेशन सकियो । अधिवेशन सकिएकामध्ये ३२ जिल्लामा देउवा पक्षले सभापति जितेका छन् । 



२७ जिल्लामा पौडेल पक्ष र दुई जिल्लामा कांग्रेसको तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षले सभापतिमा जितेको तथ्याङ्क छ । अधिवेशन भएका ६ मध्ये पनि तीन प्रदेशमा देउवा, एक प्रदेशमा देउवा पक्षको समर्थनमा सिटौला पक्ष र दुई प्रदेशमा मात्रै पौडेल पक्षले सभापतिमा जितेको स्थिति छ ।

अधिवेशन र यसको परिणामसँगै कांग्रेसभित्रको आन्तरिक समीकरणलाई नजिकदेखि निकाल्दै आएका राजनीतिक विश्लेषक डा. विष्णु दाहाल देउवा निकै बलियो बनेर आएको बताउँछन् । 

‘प्रष्ट चित्र के देखियो भने जिल्ला हुँदै प्रदेशसम्मको अधिवेशनले देउवालाई रोक्न मुस्किल पर्ने देखियो । उनी अघिल्लो पटकभन्दा बलियो भए’, उनले फरकधारसँग भने, ‘इतर पक्षका एक ढिक्का भएन भने पहिलो चरणमै निर्वाचन जित्न देउवालाई सहज हुने देख्छु । एकीकृत भएको अवस्थामा यसै भन्न सकिन्न तर के हो भने देउवा धेरै बलियो भएर आए ।’

जिल्ला र प्रदेशको अधिवेशन हुँदा केही ठाउँमा देउवा-सिटौला गठबन्धन भएको छ । यसले महाधिवेशनमा पनि गठबन्धन हुने स्पष्ट संकेत गर्छ । १३ औं महाधिवेशनमा पनि सिटौलाले देउवालाई दोस्रो चरणमा सहयोग गरेकै हुन् । यी आधारहरूले उनीहरूबीच सहकार्य हुने निश्चित मान्न सकिन्छ ।

अर्कोतिर, देउवा क्याम्पमै फोरम लोकतान्त्रिकबाट आएका नेता तथा उपसभापति विजयकुमार गच्छदार पनि सँगै छन् । राप्रपाबाट आएका नेता सुनिलबहादुर थापा पनि देउवा क्याम्पमै छन् । 

देउवा यसरी मजबुद बन्दै गएको बेला इतर पक्ष एक्लाएक्लै अघि बढ्दा महाधिवेशनमा क्षति बेहोर्न सक्ने डा. दाहालको विश्लेषण छ । 

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १३:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया