अमेरिका र चीनबीचको दुस्मनी अब खेलकुदमा पनि छिरेको छ । यसअघि सैन्य क्षमता विस्तार, प्रविधि, व्यापार र राजनीतिक प्रभाव विस्तारका क्षेत्रमा सीमित रहेको दुई देशबीचको प्रतिस्पर्धा सोमबारबाट खेलकुदमा पनि देखिएको छ ।
जसरी शीतयुद्धका बेला अमेरिका र रुसबीचको तनाव बढ्दै खेलकुदसम्म पुगेको थियो, ठिक त्यसरी नै अहिले अमेरिका र चीनबीच तनावले खेलकुदमा प्रवेश पाएको छ ।
अमेरिकाले आउँदो वर्ष बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेपछि चीनले कडा प्रतिक्रिया जनाएको छ ।
‘अमेरिकाले आफ्नो गल्तीको मूल्य चुकाउनु पर्छ,’ चीनको विदेश मन्त्रालयले आज (मंगलबार) भनेको छ, ‘यो एक षडयन्त्र हो जुन पुरा हुनेछैन ।’
अमेरिकी निर्णयले दुइ देशबीचको द्विपक्षीय संवाद र विभिन्न क्षेत्रमा रहेको सहयोगलाई नोक्सान पुर्याउने चीनको दाबी छ ।
चीनले अमेरिकी निर्णयको जवाफी कारवाही समेत गर्ने धम्की दिएको छ ।
अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिक रोक्ने प्रयास गरिरहेको आरोप चीनले लगाएको छ । यसले अमेरिकाको विश्वसनियतामाथि असर गर्ने चीनको भनाई छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनाका कारण शीतकालीन ओलम्पिकमा अमेरिकाको तर्फबाट कुनैपनि आधिकारिक प्रतिनिधिमण्डल सहभागी नहुने सोमबार बताएको थियो । तर अमेरिकी खेलाडी भने यसमा सहभागी हुनसक्ने ह्वाइट हाउसले जनाएको छ । सहभागी हुने खेलाडीलाई अमेरिकी सरकारको पूरा समर्थन रहने समेत स्पष्ट पारेको छ ।
वाशिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी निर्णयलाई ‘तमाशा’ भनेको छ । अमेरिकी निर्णलये ओलम्पिकमा कुनै असर नगर्ने समेत दूतावासले बताएको छ ।
‘अमेरिकाले खेलकुदमा राजनीति गर्न खोजेको छ । खेलकुदमा विभाजन ल्याई तनाव बढोस भन्ने अमेरिका चाहन्छ,’ संयुक्त राष्ट्रसंघमा चिनियाँ मिसनका प्रवत्ताले भनेका छन् ।
अमेरिकाले यस्तो निर्णय गर्ने आशंका चीनले पहिले नै गरेको थियो । चीनले अमेरिकी निर्णयको जवाफमा सहासी जवाफ दिने स्पष्ट पारिसकेको छ ।
शिन्जियाङ्गमा मानवअधिकार हनन्
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने संकेत गरेका थिए ।
यसको पुष्टी सोमबार ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले गरेका हुन् । उनले शीतकालीन बेइजिङ ओलम्पिकमा अमेरिका सहभागी नहुने जानकारी आधिकारिक रुपमा दिएका थिए ।
‘शीतकालीन ओलम्पिकमा ओमेरिकाको कूटनीतिक तथा आधिकारिक प्रतिनिधिमण्डल सहभागी हुनु भनेको चीनले शिन्जियाङ्गमा भइरहेको मानवअधिकार हनन तथा अत्याचारलाई नजरअन्दाज गर्नु जस्तै हो । हामी यस्तो गर्न सक्दैनौं,’ साकीले भने ।
अमेरिकाले यसअघि शीतयुद्धकाबेला ओलम्पिक बहिष्कार गरेको थियो । रुससँग शीतयुद्ध चलिरहेका बेला अमेरिकाले सन् १९८० मा रुसको मस्कोमा आयोजना गरिएको ओलम्पिक बहिष्कार गर्ने निर्णय गरेको थियो । अमेरिकाले त्यतिबेला ओलम्पिकबाट आफ्ना खेलाडी फिर्ता बोलाउँदै खेल बहिष्कार गरेको थियो ।
तत्कालिन सोभियत संघले अफगानिस्तानमा गरेको आक्रमणको विरोधस्वरुप अमेरिकाले उक्त निर्णय लिएको थियो ।
त्यसपछि सोभियत संघले सन् १९८४ मा लस एन्जलसमा भएको ग्रिष्मकालीन ओलम्पिक बहिष्कार गरेको थियो ।
‘जो खेलाडी लामो समयदेखि खेलमा सहभागी हुन तालिम लिइरहेका छन् उनीहरुलाई प्रतिस्पर्धाबाट रोक्न जायज नहुने विश्वास अमेरिकी सरकारको छ । तर सन् २०२२ मा हुने शीतकालीन ओलम्पिकमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाएर अमेरिकाले एक स्पष्ट सन्देश दिन खोजेको हो,’ साकीले भने ।
अमेरिकापछि न्युजिल्यान्डले पनि शीतकालीन ओलम्पिकमा आधिकारिक स्तरमा कूटनीतिक प्रतिनिधिमण्डल नपठाउने घोषणा गरेको छ । मंगलबार न्युजल्याण्डका उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले यस निर्णयको पछाडि ओमिक्रोन भेरियन्ट रहेको बताए ।
(बिबीसीको सहयोगमा)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।