१४ वर्षीया किशोरी बनिन् वडाध्यक्ष !

१४ वर्षीया कुसुम खड्का मंगलबार एक दिनका लागि हेटौँडा उपमहानगरपालिका, वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाअध्यक्षको पदभार हस्तान्तरण गरेका थिए ।

सोही विद्यालयका विद्यार्थीहरू रिभा बानियाँ, सृष्टि विक, रजल श्रेष्ठ र सौगात घोरासैनीलाई वडा सदस्यको जिम्मेवारी दिइएको थियो ।

खड्कालाई शपथ ग्रहण गराइसकेपछि मेयर महतले यो विशेष कार्यक्रमको थालनी गरेकोमा १८ नम्बर वडाका निर्वाचित वडाअध्यक्ष अनिल बानियाँको प्रशंसा गरेका थिए । बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका साथसाथै स्थानीय सरकारले गर्ने कामबारे वास्तविक अभ्यास भएकोमा महतले खुसी व्यक्त गरेका थिए ।

विशेषगरी बालबालिका तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो एक दिनको कार्यकालमा केही गर्ने बताएकी खड्काले वडा कार्यालयले प्रवाह गरिरहेको सेवा महिला तथा ज्येष्ठ नागरिक एवं अपांगमैत्री भए–नभएकोबारे कर्मचारीसँग जानकारी लिइन् । साथै, सुझाब पेटिका तथा नागरिक बडापत्र सबैले देख्ने गरी कार्यालय भवन बाहिरै राख्न सुझाब दिइन् ।

खड्कासहितको एक दिनको वडा कार्यसमितिले हर्नामाडीस्थित स्वास्थ्यचौकी तथा प्रहरी चौकीको समेत अनुगमन गरेको थियो । सो क्रममा ती कार्यालयबाट प्रवाह भइरहेका सेवाको जानकारी लिनुका साथै आवश्यक सुझाबसमेत दिइएको थियो । यस्तै, हर्नामाडीमै रहेको ज्योति माविका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिसँग संयुक्त अन्तरक्रिया गरिएको थियो ।

खड्काले आजै महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला जागरण समूह हर्नामाडीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमलाई पनि सम्बोधन गरेकी छिन् ।



एकदिने कार्यकालको अन्त्यमा खड्कासहितको वडा समितिले वडाभित्रका सरकारी कार्यालयमा सुझाब पेटिका अनिवार्य राख्ने, वडा कार्यालयलाई अपांग तथा ज्येष्ठ नागरिकमैत्री बनाउने तथा वडाभित्र कम उमेरमा हुने गरेको विवाहलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रम वडा कार्यालयको पहलमा अघि बढाउने निर्णय गरेको छ ।



एक दिनको कार्यभार पूरा गरेपछि खुसी व्यक्त गर्दै खड्काले आफूहरूले पाएको अवसर वडाका अन्य बालबालिकाले पनि पाउनुपर्ने बताइन् । यसले आफूलाई जिम्मेवार नागरिक भएको बोध गराएको भन्दै यस्ता कार्यक्रमले वास्तवमै बालबालिकालाई सामाजिक रुपमा उत्तरदायी बनाउनेसमेत बताइन् ।

वडाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको नेतृत्व विकास गराउन र राजनीतिमा सक्षम युवा नेतृत्वलाई अगाडि बढाउन यस किसिमको कार्यक्रमलाई वडाले अगाडि सारेको निर्वाचित वडाध्यक्ष बानियाँको भनाइ छ । 

राजनीतिमा नपढेकाहरू मात्रै आउने गरेको आरोपलाई यस्ता कार्यक्रमले चिर्ने उनले बताए । बालबालिकाहरूले एक दिनमा गरेका कामले आगामी दिनमा आफूहरूलाई नयाँ ढंगबाट वडाका गतिविधि गर्न प्रेरित गर्ने पनि उनको भनाइ थियो ।

बानियाँले वडाले आफ्नै पहलमा यो कार्यक्रम गरिएको बताउँदै अन्य विद्यालयका बालबालिकालाई पनि क्रमशः सहभागी गराउँदै यस किसिमको कार्यक्रममाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १८:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया