करिब दुई दशकअघि क्रिकेट मैदान बन्दै छ भन्ने सुन्दा मूलपानी बासीमा बेग्लै उत्साह जागेको थियो । उनीहरुले आफ्नै घरछेउमा मैदान बन्ला र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको खेल हेर्न पाइएला, यसले आफ्नो जीवनयापनमा केही सहयोग पुर्याउला भन्ने सपना साँचेका थिए ।
दुई दशकअघिको त्यो उत्साह यतिबेला भने निरासामा बदलिन थालेको छ । मूलपानी क्रिकेट मैदान देशकै गौरवको योजनाका रुपमा अघि सारिएको भए पनि लामो समय बितिसक्दा पनि यसले पूर्णता पाउन सकेको छैन ।
मुलपानीमा अहिले दुईवटा क्रिकेट मैदान निर्माणाधीन छन् । माथिल्लो मैदान नेपाल क्रिकेट संघ (क्यान) र तल्लो मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वामित्वमा बन्न लागेका हुन् ।
क्यानले बनाउन लागेको मैदान निर्माण सुरु भएको डेढ दशकभन्दा लामो समय भइसकेको छ । अहिले यसमा घरेलु प्रतियोगिता सञ्चालन हुँदै आएको भए पनि मैदानको पिच राम्रो नभएको गुनासो सुनिँदै आएको छ ।
माथिल्लो मैदानमा तारबार लगाउने र पिचमर्मत काम भएको, तर प्याराफिट भने बनाइएको छैन । सुरुवातमा अन्तर्राट्रिय स्तरको बनाउने भनिए पनि अहिले यो मैदान घरेलु प्रतियोगितामै सीमित बनेको छ, तर राम्रा संरचना भने छैनन् ।
अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि भनेर बनाउन लागिएको अर्को मैदानको हालत झन् नाजुक छ । राखेपले २०७१ सालमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनका साथ सुरु गरेको भए पनि यो मैदानमा उल्लेख्य प्रगति हुन सकेको छैन ।
लामो समय जग्गा विवादका कारण यो मैदानको निमार्णमा खासै प्रगति हुन सकेको थिएन । अहिले त्यो विवाद साम्य भएको २ वर्षभन्दा बढी भइसकेको भए पनि मैदान छेवैमा रहेको टहरा हटाउने र पिच सम्याउने बाहेकको अन्य काम हुन सकेको छैन ।
हामीले २ वर्षअघि राखेपका तत्कालीन पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय मैदानको विषयमा कुरा गर्दा उनले जग्गा विवाद मिलिसकेकाले चाँडै नै निर्माण सुरु गरिने बताएका थिए ।
उपाध्यायले निर्माण चाँडै सुरु हुने बताएको २ वर्ष बितिसक्दा पनि मैदानको अवस्था भने जस्ताको त्यस्तै छ ।
सरकारले हेरक वर्ष मूलपानी क्रिकेट मैदानका लागि भनेर बजेट छुट्याउँछ । तर, झारा टारेर बजेट सक्ने काम मात्र भएको छ । यसबाट पनि प्रस्ट हुन्छ कि मूलपानी क्रिकेट मैदान निर्माणमा राखेपले कति चासो देखाएको छ ।
राखेपका पदाधिकारीलाई यो विषयमा फोन गर्दा उनीहरुबाट आउने एउटै जवाफ हो, अब चाँडै नै मूलपानी क्रिकेट मैदान निमार्ण सम्पन्न हुन्छ । तर, काम भने १ प्रतिशत पनि अघि बढ्न सकेको छैन । अहिलो उनीहरुलाई राम्रो बहाना बनेको छ, कोरोनाका कारण काम अघि बढाउन सकिएन ।
भनिएको समयमा निर्माण सम्पन्न हुन्थ्यो भने यति बेला मूलपानी क्रिकेट मैदानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल भइरहेका हुन्थ्ये । खेल हेर्न जम्मा भएका दर्शकको होहल्लाले मैदान परिसर गुञ्जायमान हुन्थ्यो ।
खेलाडी कुदिरहेको हुनेपर्ने मैदानमा स्थानीय बालबच्चा कुदिरहेको देख्न सकिन्छ । दर्शक बस्नका लागि बनाइएको प्याराफिट त्यहाँ पुग्नेहरुका लागि सेल्फी खिच्ने स्टेसनका रूपमा सीमित छ ।
दर्शकको होहल्लाले गुञ्जयमान हुनुपर्ने मैदान परिषद अहिले सुनसान छ । त्यहाँ खेल, खेलाडी र दर्शक त परको कुरा मैदान निर्माणको जिम्मा पाएकाहरु नै नपुगेको पनि महिनौँ भइसकेको छ ।
मैदान निर्माण प्रगति हेर्दा लाग्छ, अझै दशकौँभन्दा बढी समयमा यहाँ क्रिकेटको माहोल बन्ने छैन । कहिलेसम्म मूलपानी क्रिकेट मैदान बनिसक्ला ? यो प्रश्नको जवाफ जिम्मेवार निकायसँगै छैन ।
नेपालमा मूलपानीजस्ता कयौँ पूर्वाधार छन्, जुन सरकारी बेवास्ताका कारण समयमै निर्माण हुन नसकेर अहिले जीर्ण अवस्थामा पुगेका छन् । यस्ता पूर्वाघारमा सरकारले करोडौँ खर्च गरिसकेको भए पनि यसको प्रतिफल भने शून्य छ ।
खेल पूर्वाधार निर्माणमा सरकारी निकायको यस्तो बेवास्ताले स्थानीयलाई मात्र नभएर खेल क्षेत्रसँग सरोकार राख्नेलाई पनि निराश बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।