कांग्रेस अधिवेशन : उम्मेदवारको टुंगो लगाउन देउवाले बोलाए आफू पक्षधरको बैठक

१४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो । 

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ । आकांक्षी धेरै हुँदा उनीहरूलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन । 

यसअघि देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् । 

महाधिवेशन नजिकिएसँगै सभापति देउवाले आफू पक्षधर नेताहरूसँग छलफल गर्न लागेका छन् । सभापतिमा आफूलाई चुनौती दिने कोही नभए पनि आफ्नो समूहको व्यवस्थापनका लागि देउवा लागि परेका हुन् ।  त्यसका लागि देउवाले आज बिहान ९ बजे आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरूसँग छलफल गर्न लागेका छन् । 

महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रूपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरूले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् । 

‘साथीहरूसँगको छलफलका लागि सभापतिज्यूले बुढानिलकण्ठमा बुधबार बिहान ९ बजे बैठक बोलाउनु भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।



देउवाले बैठकमा आकांक्षीहरूको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए ।  देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । 

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । यसैबीच, संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ । 



मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनकाअनुसार भोलिसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ । 

सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरू विषयमा छलफल गर्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । 

त्यस्तै, निर्वाचितबाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।  


  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ६:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया