नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । २५-२६ मंसिरमा दाङको राप्ती गाउँपालिका-२ बराखुटीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सम्मेलन प्रचारप्रसार उपसमिति संयोजक जीवन गौतमले जानकारी दिए ।
माओवादीले यसपटक स्थानीय पालिकालाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुने संयोजक गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुने छ ।
‘२०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन्, यसले गर्दा पालिका कार्यकारी भएको छ,’ उनले भने । मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको गौतमले बताए ।
माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् । पालिकाको सम्वन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।
२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुलारूपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुने छ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुने छ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् ।
बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।
माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई-दुई जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरू प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एकलाख १२ हजार रहेको छ । जस अनुसार सबैभन्दा धेरै दाङमा १९ हजार ७०० छन् ।
माओवादीको विधान अनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन् । प्रदेश कमिटीको पदाधिकारी रहेका केन्द्रीय सदस्यहरूले अब भने कुनै एक रोज्नुपर्ने भएको छ । माओवादी प्रदेश सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम तय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।