नेपाली कांग्रेसको संस्थापन पक्ष (सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा) ले उपसभापति विमलेन्द्र निधिलाई बैठक बोलाउन छोडेको छ ।
यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने पार्टीको १४औं महाधिवेशनमा उठ्ने पदाधिकारीको नाम टुङ्गो लगाउन सभापति देउवाले आज संस्थापन पक्षको बैठक बोलाएका थिए । बैठक अहिले चलिरहेको छ ।
अघिल्ला बैठकहरूमा संस्थापन पक्षले निधिलाई यस्ता बैठक बोलाउने गरे पनि आजको बैठकमा भने उनलाई कुनै सूचना नदिइएको निधिले बताएका छन् ।
‘संस्थापन पक्षबाट मेरो नाम काटिएको छ । म घरमै छु । जारी संस्थापन पक्षको बैठकमा छैन,’ उपसभापति निधिले भने, ‘यसअघि संस्थापन पक्षको बैठकमा बोलाउँथ्यो ।’
निधिले यसपटकको महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार घोषणा गरेपछि संस्थापन पक्ष उनीसँग रिसाएको हो । संस्थापन पक्षको तर्फबाट हालका सभापति तथा प्रधानमन्त्री देउवाले उम्मेदवारी दिंदै छन् ।
निधि यसअघि संस्थापनको पक्षको नेताको रुपमा चिनिन्थे । यसपटक सभापति पदमा देउवासँग कुरा नमिलेपछि उनी आफ्नो छुट्टै प्यानल निर्माण गरी महाधिवेशनमा जाने तयारीमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।