कांग्रेस महाधिवेशन : मेटमणि चौधरीको ड्रिम टिम

नेकपा एमालेमा लामो समय विद्रोह गरेर गत ९ भदौमा निर्वाचन आयोग पुगेर दल दर्ता गराएको नेकपा (एकीकृत समाजवादी) यतिबेला संगठन निर्माण र पार्टीको आन्तरिक काममा व्यस्त छ ।

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीमाथि सबैभन्दा खरो आलोचना गर्नेमध्येका एक हुन्– मेटमणि चौधरी । एकीकृत समाजवादी लुम्बिनी प्रदेश संयोजकसमेत रहेका चौधरी एमालेमै रहँदा पनि लामो समय विधि र पद्धतिका कुरा गरिरहेका हुन्थे । 

एकीकृत समाजवादीले आफ्नो महाधिवेशनको बारेमा अहिलेसम्म केही तय गरेको त छैन । तर लामो समय बिताएको एमालेले भने केही दिनअघि मात्र चितवनमा भव्य महाधिवेशन सकिसक्यो । 

सँगसँगै फरक विचार राख्ने दल नेपाली कांग्रेसको महाधिवेशन मुखैमा आइपुगेको छ । जसको तयारी कांग्रेसले अन्तिम चरणमा पुर्याएको छ । नेताहरू आन्तरिक विवाद सुल्झाउन निरन्तर छलफलमा छन् । 

फरकधारले सुरु गरेको श्रृङ्खला ‘ड्रिम टिम’ मा हामीले फरक दलका नेताहरूसँग कांग्रेसको अबको नेतृत्वको बारेमा कुरा गर्ने क्रममा चौधरीलाई पनि समेटेका छौं । उनी कांग्रेसमा अब नयाँ र युवा पुस्ताको खाँचो रहेको बताउँछन् । फरकधारसँगको कुराकानीका क्रममा चौधरीले भने, ‘सकभर सर्वसम्मत नेतृत्व चुनिनुपर्छ । नभए पूर्ण प्रतिस्पर्धा गराएर नेतृत्व छानिनुपर्छ ।’

हामीले अहिले देखिएका अनुहारमध्येबाट कांग्रेस सभापतिमा को आइदिए हुन्थ्यो त भनेर सोधेका थियौं । जवाफमा चौधरीले शेरबहादुर देउवा नै अबको नेतृत्वका लागि अन्यभन्दा उत्तम रहेको बताउँछन् । ‘पुरानैमा फर्कनुपर्दा शशांक कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको नाम हो । यी ३ जनामध्येमा देउवा नै ठिक होला जस्तो मलाई लाग्छ,’ चौधरीले भने । तर, यी ३ वटै अनुहारबाट कांग्रेस अघि बढ्न नसक्ने उनको टिप्पणी छ । 



चौधरीको चाहना यो पटकको महाधिवेशनबाट कांग्रेसमा युवा पुस्ताले नै सभापतिका लागि हस्तक्षेप गर्नुपर्ने छ । तर, देखिएका शीर्ष युवाहरूले त्यो हिम्मत नगरेका कारणले पुरानै अनुहारमध्येबाट देउवा छान्न परेको उनले बताए । ‘अहिलेको नेतृत्वमा युवा पुस्ता आइदिए हुन्थ्यो भन्ने मेरो चाहना छ । विश्वप्रकाश शर्मा, गगन थापाहरू नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । तर, उहाँहरूले हिम्मत गर्नुभएको छैन,’ उनले भने ।

कांग्रेस महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवार घोषणा गरिसकेका तीनजनाको नाम हामीले चौधरीलाई स्मरण गरायौँ । विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल ।



यी ३ अनुहारमध्येबाट कांग्रेसको बिँडो थाम्ने र महामन्त्रीका लागि उपयुक्त पात्र भनेको विश्वप्रकाश नै रहेको उनले बताए । ‘महामन्त्रीमा देखिएका ३ वटा अनुहार विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल हो । यी ३ मध्ये कांग्रेसको बिँडो थाम्ने भनेको विश्वप्रकाश शर्मा नै हुन्,’ चौधरीले भने भने, ‘उहाँले नै संस्थागत रूपमा पार्टीलाई र आफूलाई विकास गर्न सक्नुहुन्छ जस्तो लाग्छ ।’

कांग्रेसले महाधिवेशन गर्नका लागि देखाएको अस्तव्यवस्ताले झनै निराश भएका पार्टीका कार्यकर्तामा परेको उनको भनाइ छ । ‘कांग्रेस आफैंमा व्यवस्थित पार्टी होइन, त्यसैले समय बढी लिएको छ । कांग्रेस पार्टीको विधि र विधानलाई थ्रेसहोल्ड मानेर अघि बढ्दा राम्रो हुन्थ्यो,’ उनले भने ।

चौधरीले सहमहामन्त्रीमा गगन थापा र प्रदीप पौडेललाई लैजाँदा राम्रो हुने बताए । ‘जतिसुकै पीडा र दुःख भएपनि सहमहामन्त्रीमा गगन थापा र प्रदीप पौडेललाई उहाँहरूले लैजानुपर्छ,’ चौधरीले भने, ‘कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पनि त्यही कुरालाई लिनुपर्छ । कुनै पनि हकमा पुरानो पुस्ताले कांग्रेसलाई अब अघि बढाउन सक्दैन्, अब नयाँ तरिकाले पार्टीलाई अघि बढाउन उहाँहरूको क्षमता र दृष्टिकोणले दिँदैन ।’

शेरबहादुर देउवापछि विश्वप्रकाशलाई र त्यसपछिको नेतृत्व गगन र प्रदीपहरूलाई दिँदा राम्रो हुने उनको भनाइ छ । नेपालको लोकतन्त्रलाई सुदृढ गर्नका लागि लोकतन्त्रको मनोविज्ञान सबै दलका नेताहरूले बुझ्नुपर्ने उनले बताए । 

‘नेपालको लोकतन्त्रलाई सुदृढ गर्नका लागि जति पनि राजनीतिक दलहरू छन्, सबै दलहरूमा लोकतन्त्रलाई सपोर्ट गर्ने खालको मनोविज्ञान बन्नुपर्छ,’ चौधरीले भने, ‘कांग्रेस यतिबेला नेपालको सबैभन्दा जेठो पार्टी हो । जेठो पार्टीको महाधिवेशन स्वभाविक रूपमा सन्देशपूर्ण हुनुपर्छ । हामीले चाहेको के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको भरपूर उपयोग हुनेगरी क्रियाकलापहरू हुनुपर्यो ।’

लोकतन्त्रको कुनै पनि मान्यतालाई नटेक्ने, स्वेच्छाचारी तरिकाले अघि बढ्ने, नेतृत्वलाई जे मन लाग्यो त्यही गर्ने भयो भने लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने उनले बताए । 


  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १२:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया