कांग्रेस महाधिवेशन : पौडेललाई समस्या सभापति छान्न, देउवालाई महामन्त्री

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन अब दुई दिन मात्र बाँकी छ । तर, अहिलेसम्म कांग्रेसका दुई नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले महाधिवेशनमा आ-आफ्नो समूहबाट उम्मेदवारी दिने नेता छान्न सकेका छैनन् ।

यो महाधिवेशनमा कांग्रेस सभापति देउवाले फेरि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । तर, सभापतिमा उम्मेदवारी दिने विषयमा अहिलेसम्म आधिकारिक रुपमा पौडेलले केही भन्न नसकेका मात्र होइन, उनले आफ्नो समूहबाट सभापति उम्मेदवार को हुने भन्ने पनि छान्न सकेका छैनन् ।

पौडेलले पहिलो पटक आफूनिकट सभापतिका आकांक्षीहरुलाई सँगै राखेर मंगलबार दिउँसो चाक्सीबारीमा सभापतिको उम्मेदवारबारे छलफल गरेका थिए । बुधबार पनि यो समूहको बैठक बसिरहेको छ । तर, बुधबार दिउँसोसम्म यो समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

अर्कोतिर, पदाधिकारी तथा केन्द्रीय सदस्यमा आफ्नो समूहबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सभापति शेरबहादुर देउवा पनि निर्क्यौलमा पुग्न सकेका छैनन् । उनले आज बैठक बोलाएर यसबारे टुंगो लगाउने प्रयास गरेका छन् । तर, पदाधिकारीमा उनको समूहबाट आकांक्षी धेरै भएकाले उनलाई यसमा असहज हुने अनुमान गरिएको छ ।

आउनुहोस्, कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा पौडेल र देउवालाई के-के कुरामा समस्या भइरहेको छ र उनीहरुलाई ककसले चुनौती दिइरहेका छन् भन्नेबारे चर्चा गरौँ ।

यसपटक देउवाले सभापतिमा दोहोरिने चाहना देखाएपछि सबैभन्दा पहिले उनलाई चुनौति दिएका हुन्, विमलेन्द्र निधिले । निधिले पनि सभापतिमा दाबी गरेपछि देउवाले बारम्बार उनलाई फकाउने प्रयास गरे । तर, उनी यसमा सफल भएनन् । देउवालाई १३ औं महाधिवेशनमा सहयोग गरेका निधिले यसपटक सभापतिमा उम्मेदवारी दिने अन्तिम फैसला सुनाएका मात्र छैनन्, यसको तयारीमा व्यापक रुपमा लागेका छन् ।



निधिले त देउवाको क्याम्प नै छाडेर उनलाई चुनौती दिए तर देउवालाई अहिले पनि आफूसँगै रहेका नेताहरुलाई व्यवस्थापन गर्न निकै समस्या देखिएको छ । यो महाधिवेशनमा निधिले साथ छाडेपछि देउवाले १३ औं महाधिवेशनमा आफूलाई साथ दिएका सिटौलाको साथ त लिने प्रयास गरेका छन् । यही प्रयासमा पनि देउवालाई चुनौति थपिएको हो ।

किनकि सिटौलालाई साथमा लिँदा देउवाले आफ्नो समूहबाट पदाधिकारीमा हुने उम्मेदवारीमा दुई पद गुमाउनु पर्ने बाध्यता आएको छ । यी दुई पद हुन्, उपसभापति र महामन्त्री  । देउवाले सिटौलालाई आफूलाई सहयोग गरेको खण्डमा आफूले उपसभापति र महामन्त्री सिटौलालाई दिने बताइसकेका छन् । स्रोतका अनुसार सिटौला यसपटक उपसभापतिमा आफू लडेर आफ्नो समूहका नेता प्रदीप पौडेललाई महामन्त्रीमा लडाउँदै छन् ।



एक महामन्त्री पद गइसकेपछि देउवालाई आफ्नो टिमका महामन्त्रीका आकांक्षीहरुलाई मिलाउन हम्मे हम्मे परेको हो । देउवा समूहबाट ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक, प्रकाशशरण महतलगायतका आधा दर्जन व्यक्ति महामन्त्रीमा आकांक्षी देखिएका छन् ।

उनलाई साथ दिइरहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, उनी देउवा छाडेर यसपटक विमलेन्द्र निधि समूहबाट महामन्त्रीको उम्मेदवार हुने अनुमान बढी गरिएको छ ।

धेरै नेता र एउटै पदमा धेरै आकांक्षी भएकाले देउवालाई यसपटक आफ्नो समूह व्यवस्थापनमा निकै समस्या भएको छ  ।

अर्कोतिर, रामचन्द्र पौडेल समूहबाट सभापतिमा आकांक्षी धेरै भएकाले उनलाई सभापतिको साझा उम्मेदवार तय गर्न नै समस्या भएको छ । यसअघि आफूले नै यो महाधिवेशनमा सभापतिमा दाबी गर्ने बताउँदै आएका पौडेलले शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइरालाले पनि सभापतिमा दाबी गरे पछि केही लचकता देखाएका थिए ।

अब यो समूहमा पौडेल र शशांक कोइरालाले आफूहरुले सहमति भएको खण्डमा सभापतिमा दाबी छोड्न तयार रहेको बताएका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंह दुवैले आफूहरुले कुनै पनि हालतमा पछाडि नफर्किने बताएका छन्  ।

यो समूहका एक नेताका अनुसार एक जनामा मात्र सहमति भएको खण्डमा यो समूहबाट रामचन्द्र पौडेलले नै सभापतिमा उम्मेदवारी दिन सक्छन् ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया