‘ए’ डिभिजन लिग : बराबरीमा रोकिए हिमालयन शेर्पा र पुलिस

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुवै टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार १–१ गोलको बराबरीमा रोकिएका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा अंक बाड्न बाध्य बन्यो । 

खेलको पहिलो मिनेटमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । उनले मोइनुद्दीनको पासमा डि-बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । 

दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । रवि पासवानको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका सुमनले सहजै गोल गरे ।   

५७ औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोले पेनाल्टी एरियाबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

६३ औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरमा अन्जन राईको उत्कृष्ट हेडर बल हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले गोललाइनबाट क्लियर गर्दै गोल हुनबाट जोगाए ।



७४ औं मिनेटमा अन्जनकै प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले गोललाइनबाट बचाउ गर्दै टोलीको संकट टारे ।  

यो बराबरीसँगै ३ खेलमा ५ अंक जोडेको पुलिस लिगको चौथो स्थानमा उक्लिंदा २ अंकका साथ हिमालयन शेर्पा १२ औं स्थानमा छ ।  



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया