बिर्तामोडबाट नेपथ्यले थाल्यो ‘मुलुकयात्रा’

झापा– ‘मुलुकयात्रा’मा निस्केको नेपथ्य ब्यान्डले पूर्वको केन्द्र बिर्तामोडमा कन्सर्ट गरेको छ । मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मको यात्रा गर्ने क्रममा नेपथ्यको यो पहिलो प्रस्तुति हो । 

तराईका चार सहरमा हुने श्रृंखलाबद्ध कन्सर्टमध्ये पहिलो मंगलबार यहाँ सम्पन्न भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ नाराका साथ कन्सर्ट आयोजना भएको थियो ।

पूर्वनिर्धारित समयअनुसार ठीक पौने ६ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्युजिक भिडियो ‘सा कर्णाली’ बज्न थालेपछि विशाल मैदानमा उपस्थित दर्शकले कोलाहलका साथ स्वागत गरेका थिए ।

त्यसपछि, अर्को म्युजिक भिडियो ‘ऐनाझ्याल’ प्रस्तुत गरियो ।

त्यसपछि मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्यान्डकै सबैभन्दा पहिले रेकर्ड भएको गीत सुनाएको थियो ।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपिराखे है’



ब्यान्ड २५ वर्ष पुगेको अवसरमा नेपथ्यले मुलुकभरि घुम्ने कार्यक्रम सुरु गरेको हो । 



नेपथ्यका नयाँपुराना गीतहरूबाट कन्सर्ट अघि बढ्यो । सधैँझैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरी म¥यो सिसैको गोलीले’, ‘भेडाको ऊनजस्तो’, ‘तालको पानी’जस्ता गीतलाई दर्शकले असाध्यै मन पराए ।

देशभक्ति जगाउने ‘गाउँगाउँबाट उठ’ हुँदै ‘रातो र चन्द्रसूर्य’मा पुगेर कार्यक्रम अन्त्य भयो ।

भौगोलिक अवस्थितिका कारण पूर्वाञ्चलका विभिन्न जिल्लाको केन्द्रका रूपमा विकास हुँदै गएको बिर्तामोडमा नेपथ्य दोस्रोपटक उपस्थित भएको हो । सन् २००५ मा ‘सुन्दर शान्त नेपाल’ संगीतयात्राका क्रममा नेपथ्यले पहिलोपटक यहाँ आफूलाई प्रस्तुत गरेको थियो । 

कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरू किन्न मद्दत गर्ने आयोजकले जनाएको छ ।

नेपथ्यको यो यात्रा अब मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार २१:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया