एकदमै बलियो मानिने एमआई-१७भी-५ सिरिजको हेलिकोप्टर कसरी पर्यो दुर्घटनामा ?

भारतीय रक्षा प्रमुख विपिन रावत सवार एमआई-१७भी-५ सिरिजको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी धेरैको ज्यान गएको छ । रक्षा प्रमुख रावतको पनि गम्भीर घाइते अवस्थामा उद्धार गरेर सैनिक अस्पतालमा उपचार चलिरहेको छ ।

रक्षा प्रमुख रावतसहित १४ जना सवार उक्त हेलिकोप्टर तमिलनाडुको एक जंगलमा दुर्घटनाग्रस्त बनेको थियो । बाक्लो हुस्सु लागेका कारण 'लो भिजिबिलिटी'का कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । जंगलमा दुर्घटनाग्रस्त हुँदा रूखमा ठोक्किएसँगै हेलिकोप्टरमा आगो लागेको थियो ।

रक्षा प्रमुख रावत सवार उक्त हेलिकोप्टर एकदमै बलियो मानिन्छ । डबल इन्जिन भएको उक्त हेलिकोप्टर रूसले बनाएको हो । भारतीय सेनाले सन् २०१२ बाट उक्त कम्पनीको हेलिकोप्टर प्रयोग गर्दै आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो हेलिकोप्टर सेनाले प्रयोग गर्नका लागि अति नै उत्तम मान्छ । यतिसम्म कि यो हेलिकोप्टरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि कैयौँ पटक सवार गरिसकेका छन् ।

यो हेलिकोप्टरलाई सेनाले युद्धका लागि, भारी हातहतियार तथा सामग्री ओसारपसारका लागि पनि प्रयोग गर्दै आएको छ । यति मात्र नभएर सर्च एण्ड रेस्क्यूमा पनि यहि हेलिकोप्टर प्रयोग गरिन्छ । सन् २०१३ मा आयोजित एयर इण्डिया शो पछि भारतीय रक्षा मन्त्रालयले उक्त हेलिकोप्टरका लागि अर्डर दिएको थियो ।

भारतीय रक्षा मन्त्रालयले त्यसअघि नै ८० वटा हेलिकोप्टरका लागि रूसी हेलिकोप्टर कम्पनीसँग १.३ अर्ब डलरको अर्डर सम्झौता गरेको थियो । सोही आधारमा सन् २०१३ मा ३६ हेलिकोप्टर भारत आएका थिए । यो हेलिकोप्टर सदुद्री बायु क्षेत्र तथा भारी वर्षाद्मा पनि उडान भर्न सक्ने क्षमता राख्दछ ।



१३ हजार किलोग्राम तौल क्षमताको यो हेलिकोप्टरमा ३६ सशस्त्र सैनिकलाई ओसारपसार गर्न सक्छ । एकै पटकमा चार हजार ५०० किलोग्राम तौल बोक्न सक्छ ।



एमआई-१७भी-५ मा तीब्र गतिको मिसाइल, एस८ रकेट, एक २३ एमएम क्षमताको मेसिन गन, पीकेटी मेसिन गन तथा एकेएम सब मेसिन गन जस्ता अत्याधुनिक हतियार जडान गरिएको छ । हतियारहरूको निसाना बनाउन ८ वटा फायरिङ पोस्ट पनि छन् ।

यो हेलिकप्टर दुस्मन, बख्तरबन्दी बाहन, भूमि आधारित क्षेत्र लगायतलाई लक्षित गरेर निसाना बनाउँदै एकैपटक फायरिङ गर्न सक्छ । विश्वका शक्तिशाली ६० भन्दा बढी देशले यहि हेलिकोप्टर प्रयोग गर्दै आएका छन् । हेलिकोप्टर कम्पनीले अहिलेसम्म १२ हजारभन्दा बढी हेलिकोप्टर बिक्री गरिसकेको छ ।

सबै दृष्टिकोणले एकदमै सुरक्षित र अत्याधुनिक मानिएको यो हेलिकोप्टर कसरी दुर्घटनाग्रस्त भयो भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ । यस विषयमा अनुसन्धान गर्न भारतीय रक्षा मन्त्रालय र भारतीय सेनाले समेत समिति गठन गरेका छन् ।


  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १६:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया