नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।
आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ-आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो ।
मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।
सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् ।
सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।
चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि बिहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ ।
उनले भने, 'उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।'
उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।