फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घटनाक्रमलाई देखाइएको छ । हरर् विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
यस फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् ।
फिल्मकी कार्यकारी निर्मातासमेत रहेकी मल्लले फिल्म हरर् विधामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।
कार्यक्रममा कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको शर्माले बताइन् । लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर् फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।