सरकारको निर्णयको पर्खाइमा खोप शाखा, भन्छ - बुस्टर डोज दिन समस्या छैन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण केही मथ्थर हुँदै गर्दा दैनिकी सामान्य बन्दै थियो । कोरोनाविरुद्धको खोप अभियान सुरु भएसँगै जनजीवन सहज हुने अनुमान गरिएको थियो । अहिले विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण असहज परिस्थिति सिर्जना भएको छ ।

तीव्र रूपमा प्रसार हुने ‌ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न भन्दै कतिपय देशले नाकाबन्दीका साथै लकडाउनसम्मका घोषणा गरेका छन् । यस्तै, परीक्षणका दायर बढाउँदै लगिएको छ भने पहिलो र दोस्रो डोजको खोप लगाएकालाई पनि बुस्टर डोज लगाउनका लागि अनुरोध गर्न थालिएको छ ।

नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएसँगै बुस्टर डोज खोप दिनुपर्ने चर्चा चलेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जति सक्दो छिटो सबैले बुस्टर डोज लगाउनु पर्नेमा जोड दिँदै दिएका छन् । उनले सार्वजनिक कार्यक्रममा बुस्टर डोज लगाउने कुरा गरे पनि सरकारी निर्णयको प्रतीक्षामा छन् खोप केन्द्रहरू ।

आयात भएका खोपहरू स्टक रहनुका साथै आउने क्रममा पनि रहेकाले बुस्टर डोज खोप लगाउन समस्या नहुने स्वास्थ्य मन्त्रालयको खोप शाखाको भनाइ छ ।

सरकारको निर्णय भएको खण्डमा बुस्टर डोज लगाउन सकिने खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए । ‘हामीसँग भएका खोपहरूलाई बुस्टर डोजको रूपमा प्रयोग गर्न निर्णय हुने बित्तिकै हामी खोप प्रयोग गर्न सक्छौँ,’ उनले भने ।

उनका अनुसार नेपालमा अहिलेसम्म २ करोड ६८ लाख ७१ हजार डोज कोभिड खोप आइसकेको छ । जसमा आजसम्म १ करोड ९१ लाख ५७ हजार ४४४ जनाले खोप लगाइसकिएको छ् । आलसम्म नेपालमा आयातीत खोपमध्ये ४८ लाख १३ हजार ५५६  खोप बाँकी छ । खोप शाखा टेकु तथा प्रदेशमा सो परिमाणमा खोपहरू थन्किएको हो । 



यसअघि फ्रन्टलाइनमा रहेर काम गर्नेहरूलाई बुस्टर डोज दिइएको थियो । यसको प्रभावकारिता  राम्रो भएको कारण अन्य व्यक्तिलाई पनि बुस्टर डोज दिन सकिने उनले बताए । ‘बुस्टर डोजको अहिले चर्चा मात्र चुलिएको हो । सरकारका तर्फबाट निर्णय भएको छैन । निर्णय भएको खण्डमा बुस्टर डोज पनि लगाउन सकिन्छ’ उनले भने ।

थन्किएको खोप पुगेन ग्रामीण भेगमा



सरकारले हरेक दिन २ लाख व्यक्तिलाई कोभिडको खोप दिने लक्ष्य लिएको थियो । उक्त लक्ष्य प्राप्त गर्न भने सरकारलाई अझै धौ-धौ परेको छ । प्रदेश तथा खोप केन्द्रमा खोप थन्किएर बस्दा पनि कतै भने मानिसहरूले पहिलो डोजको खोप लगाउन पाएका छैनन् ।

ग्रामीण भेग तथा सुदूरपश्चिमका जिल्लाका बासिन्दाले अझै कोभिडको खोप लगाएका छैनन् । यस विषयमा भने डा चौरासिया भन्छन्, ‘हामीले सम्पूर्ण स्थानीय तहसँग सहकार्य गरिरहेका छौँ । खोप वितरण कार्य निरन्तर जारी रहिरहेको छ ।’

खोप लगाउने काम निरन्तर भइरहेको जानकारी दिँदै उनले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका निकायसँग सहकार्य भइरहेको बताए । ‘खोप कार्यलाई बढाउने कार्य पनि भइरहको छ । प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका निकायसँग सहकार्य भइरहेको छ । भर्चुअल मिटिङ भइरहेको छ । हाम्रो प्रयास जारी रहेको छ’ उनले भने ।

नेपालमा कोरोनाविरुद्ध हालसम्म पाँच प्रकारका खोपहरू लगाइने गरिएको छ । आएका खेपमध्ये बुस्टर डोजका लागि एक प्रकारको खोप लगाएका व्यक्तिले अर्को प्रकारको खोप लगाए पनि हुने चिकित्सकहरूले बताउँदै आएका छन् । यसका लागि खोप केन्द्र भने सरकारको निर्णयको प्रतीक्षामा रहेको छ ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २१:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया