न्युजिल्यान्डमा सन् २००८ पछि जन्मिएकालाई चुरोट किन्न नपाउने नियम

न्युजिल्यान्डमा सुर्तीजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धूमपानलाई रोक लगाउने पहलस्वरूप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सुर्तीजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हो ।

सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धूमपानबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा आयसा भरलले भने । 

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धूमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।

‘सरकारको कदमले सुर्तीजन्य पर्दाथ विक्रीमा कमी आउने र कम हानिकारक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कुलतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।

न्युजिल्यान्डले धूमपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झार्ने र त्यसपछि विस्तारै निर्मूल गर्ने सरकारले लक्ष्य राखेको छ ।

अहिले न्युजिल्यान्डका १३ प्रतिशत वयस्कले धूमपान गर्छन् । एक दशकअघिसम्म १८ प्रतिशतले धूमपान गर्दथे । तर, आदिवासी जनजाति समुदायमा भने यो दर उच्च छ । धूमपानकै कारण ३१ प्रतिशत जनजाति धूमपानका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित छन् ।



धूमपानका कारण न्युजिल्यान्डका हरेक चार जनामध्ये एक जनामा क्यान्सर हुने गरेको र सुर्तीजन्य पर्दाथका कारण ५० लाख मानिसमा स्वास्थ्य समस्या आएको जनाइएको छ ।

सरकारको नयाँ योजनाअन्तर्गत सुर्तीजन्य पदार्थ विक्री गर्ने पसलहरुलाई आठ हजारबाट ५०० मा झार्ने तयारी छ ।



  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १५:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया