नेपाली कांग्रेसको वर्तमान कार्य समितिको अन्तिम बैठकले चारवटा प्रस्ताव पारित गरेको छ । महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको लिखित प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेकी लेखासम्बन्धी प्रतिवदेन पनि पारित गरेको छ ।
प्रतिवेदनमा कांग्रेससँग १० करोड बढी रकम मौज्दात रहेको उल्लेख छ ।
उपसभापति विमलेन्द्र निधि नेतृत्वको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान समितिले गरेको कार्यसम्बन्धी प्रतिवेदन र परिमार्जित विधानलाई बैठकले अनुमोदन गरेको छ ।
‘महासमिति बैठकद्वारा परिमार्जित विधान अनुमोदन भयो । कार्यान्वयनमा कतिपय जटिलता आए । परिस्थिति र आवश्यकता बमोजिम विधानको धाराहरूमा बाधा अड्काउ फुकाउ गरेको, कतिपय निलम्बन गरेको र कतिपयलाई परिमार्जन गरिएको थियो’, शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग भने,‘अब केन्द्रीय महाधिवेशनको बन्द सत्रमा यससम्बन्धी प्रस्ताव जान्छ । त्यसपछि विधानले आधिकारिता पाउँछ ।’
कांग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह भने सहभागी थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।