संस्थापनइतर पक्षमा 'चमत्कारिक' सहमति भए मात्रै साझा उम्मेदवार

कांग्रेस नेताहरूले संस्थापक नेतामध्येका गणेशमान सिंह र किसुनजीको गुणगान गाउँदा प्रयोग गर्ने शब्द हो, ‘त्याग’ । यही शब्दको विशेषण प्रयोग गर्दै कांग्रेसजनले उनीहरू ‘त्यागी’ नेता भन्छन् ।

खुबै तारिफ गर्छन् पनि भाषणमा । तर, यस्तो 'गुण' वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्षका नेताहरूमा देखिएनन् ।

लगातार चार दिनको संवादमा यो पक्षले साझा उम्मेदवार तयार गर्न सकेन । यसले उनीहरू त्याग गर्न तयार छैनन् भन्ने पुष्टि हुन्छ । यो पक्षमा नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् ।

उनीहरूलाई के कुराचाहिँ थाहा छ भने, सभापतिको साझा उम्मेदवार नभइकन शेरबहादुर देउवालाई फेरि सभापति हुनबाट रोक्न सकिँदैन । यो निष्कर्षमा उनीहरू पुग्नुको पछि जिल्ला र प्रदेश अधिवेशनको परिणाम हो । यी दुई तहको अधिवेशनपछि उनीहरूले देउवाको तागत देखेका छन् ।

र, उनीहरूको ठहर हो – देउवा बलिया देखिए । कांग्रेसको नेतृत्व फेर्नका लागि उनीविरुद्ध मोर्चाबन्दी भएर साझा उम्मेदवार दिनुपर्छ, होइन भने फेरि सभापति हुनबाट रोक्न सकिँदैन ।

यही कारण नेताहरू लगातार तीन दिनसम्म सिंह निवास चाक्सीबारीमा छलफलमा जुटे । चाक्सीबारी नेपाली लोकतान्त्रिक आन्दोलनसँग जोडिएको थलो हो । जहाँ पञ्चायतको अन्त्य गर्ने र बहुदल प्राप्ति गर्ने पहिलो जनआन्दोलनको मार्गचित्र कोरिएको थियो ।



यही महत्त्वपूर्ण राजनीतिक थलोमा भएको तीन दिन लामो छलफल निष्कर्षविहीन बन्यो । सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका डा. शेखर त्याग गर्न तयार भएनन् । चार वर्षदेखि सभापति पदको दौडमा रहेको र सभापतिको दौडबाट पछि हट्न नमिल्ने भनिरहे । उनी पछि हट्ने अवस्थामा छैनन् ।

बिहीबार निकटस्थ जिल्ला सभापतिहरूसँग पनि उनले छलफल गरेका थिए । छलफलमा जुनसुकै हालतमा सभापतिको उम्मेदवार बन्न सुझाएको एक सभापतिले फरकधारसँग भने ।



कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भेटेर नेता सिंह पनि जसरी उठ्ने भएपछि सभापतिको उम्मेदवार नबनी सहयोग गर्न आग्रह गरिसकेका छन् । यसरी सभापति हुने प्रयासबाट कोइराला पछि हट्ने छाँट छैन । अर्थात् इतर पक्षको साझा उम्मेदवार भए आफू, नभए अरुका लागि त्याग गर्न उनी तयार छैनन् ।

उनी जस्तै पूर्वमहामन्त्री सिंह पनि त्याग गर्न तयार छैनन् । ‘मैले १३ औँ महाधिवेशनमा त्याग गरेँ । अझै कति गर्नु त्याग ? के मैलै मात्रै गर्नुपर्ने हो त्याग ? तीन दिनदेखि आक्रोशयुक्त सिंहको अभिव्यक्ति छ ।

उनी साझा उम्मेदवार नभए पनि सभापतिको दौडबाट खुट्टा उचाल्ने पक्षमा छैनन् । उनलाई दबाब दिनकै लागि पौडेल र कोइरालाद्वयको बैठक सिंह निवास चाक्सीबारीमा बसेको हो । तर, न शेखर गले न सिंह नै ।

यस्तो अवस्थाबीच पौडेलले पनि दौडधुप बढाएका छन् । उनले बुधबार कांग्रेसमा तेस्रो धारका भनिएका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरे ।

भेटमा पौडेलले सिटौलासँग महाधिवेशनमा सहयोगको याचना गरेको सिटौलानिकट स्रोतले जनाएको छ । तर, सिटौला पनि प्यानलसहित महाधिवेशनमा जाने मनस्थितिमा छन् ।

चमत्कार भए मात्र सहमति

इतर पक्षका केन्द्रीय सदस्य जगदीश्वर नरसिंह केसी नेताहरू सबै सभापति पदमा चाहना राख्दा साझा उम्मेदवार छान्न मुस्किल परेको बताउँछन् । त्याग भएको अवस्थामा मात्रै साझा उम्मेदवार बन्न सक्ने स्थिति उनी देख्छन् । होइन भने सम्भव देख्दैनन् केसी ।

नेताहरू अडानमा टसमस भएनन् । यसो हुँदा इतर पक्षीय कार्यकर्ताहरूले भने राजनीतिक भविष्यमाथि चिन्ता व्यक्त गर्न थालेका छन् ।

उनीहरूको एउटै मत छ, ‘इतर पक्ष एक हुँदा मात्रै संस्थापन पक्षलाई च्यालेन्ज दिन सक्छौं र राजनीतिक भविष्य सुरक्षित गर्न सक्छौं । होइन भने पत्तासाफ हुन बेर छैन ।’

काठमाडौंको बत्तीसपुतलीस्थिति अनुपम फुडल्याण्डमा बुधबार र बिहीबार बिहान भेला भएर उनीहरूले साझा उम्मेदवारका लागि नेताहरूलाई चर्को दबाब दिएका थिए । दबाबअनुसार नेताहरू अघि बढ्ने स्थिति देखिएको छैन ।

इतर पक्षका एक केन्द्रीय सदस्यका अनुसार सहमतिको नाममा कुनै चमत्कार भए मात्रै साझा उम्मेदवार तयार हुने देखिएको छ ।

देउवालाई सहज

सभापति पदमा देउवालाई चुनौती दिन सकिने भनेकै इतर पक्षबाट साझा उम्मेदवार तयार हुँदा हो । यसका लागि भइरहेको बारम्बारको प्रयास असफल हुँदै आएका छन् ।

असफल भएको खण्डमा देउवालाई सहज हुने देखिएको छ । यसको मतलब, देउवालाई फेरि सभापति हुन सहज हुने छ । उनलाई फाइदा भनेकै इतर पक्ष एक्लाएक्लै हुनुमा छ । मत विभाजन हुँदा देउवालाई पहिलो चरणबाटै सभापति बन्ने अवसर निम्तिन सक्छ । १३ औँ महाधिवेशनमा उनी दोस्रो चरणबाट सभापति भए । जतिबेला पहिलो चरणमा तेस्रो भएका सिटौलाको सहयोग देउवाले पाएका थिए ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १७:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया