यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’–२०७७ सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी बादीले पाएकी छन् । समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कार उनले पाएकी हुन् । यस पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले उक्त पुरस्कार सांसद बादीलाई प्रदान गरे ।
पुरस्कृत व्यक्तित्व वादीले आत्मसम्मानको लडाइँमा आफूले गरेको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताइन् । उनले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताइन् ।
समाजका महासचिव रामकृष्ण बरालले बादी समुदायको मानवअधिकार र सामाजिक न्यायका लागि योगदान पुर्याउन सफल अधिकारकर्मीलाई थप प्रोत्साहन पुगोस् भन्ने हेतुले पुरस्कार उमादेवीलाई प्रदान गरेको बताए ।
विसं २०१८ फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो बादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप बादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग दुईबुँदे सम्झौता भएको थियो ।
विपन्न दलित वादी समुदायको हक–अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी बादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबिसीले सन् २०१८ को विश्वका १०० जना प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०औँ स्थानमा राखेको थियो ।
उमादेवी बादी, बादी समुदायकी एक्ली सांसद हुन् । नेपाली कांग्रेसका तर्फबाट उनी समानुपातिक तर्फबाट सांसद भएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।