प्रकाशमान सिंहको प्रस्ताव : ‘पौडेललाई सम्मानित भूमिकामा राखौं, मेरो नेतृत्वमा टिम बनाऔं’

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेदवार तयार गर्न अझैसम्म प्रयास गरिरहेको छ ।

शुक्रबार बिहानै वर्तमान/निवर्तमान/पूर्व जिल्ला सभापतिसँगै प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले सभापति पदमा उम्मेदवारी घोषणा गरेका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै भेट गरेका छन् ।

भेटमा नेता सिंहलाई सभापति पदको उम्मेदवार एकल नभइ साझा हुनुपर्छ र त्यसका लागि समझदारीमा आउनुपर्यो भनिएको केन्द्रीय सदस्य जगदीश्वर नरसिंह केसीले फरकधारलाई बताए । 

केसीका अनुसार जवाफमा सिंहले सिनियर नेता रामचन्द्र पौडेल सभापति पदको उम्मेदवार नहुँदा त्यसपछिका सिनियर नेतालाई अघि बढाउने गरी निर्णय गर्दा हुने भनेका छन् । 

पौडेलपछिका सिनियर नेता भनेको संस्थापन इतर पक्षबाट सिंह नै हुन् । उनले आफ्नो पक्षमा निर्णय गर्न सुझाएका हुन् । ‘हामी आफ्नै ढंगले कसरत गरिरहेका छौं । नेताहरूमध्येबाट एकजना मात्रै सभापति पदको हुनुपर्छ भनेर । दुई जना सभापतिको पदका उम्मेदवार भइयो भने त दोस्रो चरणमा निर्वाचन जान्छ । पहिलो चरणमै  एकल उम्मेदवार हुँदा जित्न सहज हुन्छ’, केसीले भने, ‘समय घर्किसकेको छैन । अझै समय छ ।’

नेता सिंहको निवासमा तीन दिनसम्म साझा उम्मेदवार तयार गर्नेबारे इतर पक्षको बैठक बसेको थियो । बैठकमा नेता सिंहले साझा उम्मेदवार आफूलाई बनाउन बारम्बार आग्रह गरेका थिए । 



आजको भेटमा पनि सिंहले सोही आग्रह र अडान दोहोर्याएका छन् । सिंहका सचिवालयले जनाए अनुसार सिंहले आफ्ना नेतृत्वमा संस्थापन इतर पक्षका नेताहरू अट्ने बताए । 

‘म छोड्दिन । कि सभापतिको उम्मेदवार हुन क्राइटेरिया पुगेको छैन भन्नुपर्यो । होइन भनेदेखि मेरो नेतृत्वमा सबै जना अट्न सक्छन् । रामचन्द्र दाइलाई सम्मानित तरिकाले अभिभावकत्व गरौं । अरु सबै जना मेरो टिममा मिलेर जान सकिन्छ टिम बनाऔं’, सिंहको सचिवालयले जनाएको छ । 



सिंहले पटकपटक त्याग नगर्ने बताउँदै आएका छन् । सभापति पदको योग्य उम्मेदवार भएको दाबी गर्ने उनले इतर पक्षका अन्य नेताहरूलाई सभापति पदका लागि ‘क्राइटेरिया’ नपुगेको भए त्यो भन्नुपर्ने भन्दै आएका छन् । 

सिंहपछि दबाब कोइरालालाई

नेता सिंहलाई भेटेपछि केन्द्रीय सदस्य, जिल्ला र प्रदेश सभापतिहरू डा. शेखर कोइरालासँग भेट गर्ने भएका छन् । उनीसँग पनि साझा उम्मेदवारबारे त्याग गर्न आग्रह गर्ने उनीहरूको तयारी छ ।

यसपछि भने नेता रामचन्द्र पौडेललाई भेटेर सभापति पदको साझा उम्मेदवार तोक्न लगाइने नेता केसी बताउँछन् । उनी भन्छन्, ‘यो कारणले तपाईं सभापतिको उम्मेदवार हो  र यो कारणले तपाईं उपसभापतिको उम्मेदवार भनेर विकल्प उहाँले दिनुपर्छ । अन्तिम समयमा नेताको काम आउँछ नि ।’

इतर पक्षबाट महामन्त्री डा. शशांक कोइराला पनि सभापति आकाङ्क्षी हुन् । वरिष्ठ नेता पौडेल स्वाभाविक रूपमा आकाङ्क्षी हुने भइहाले नै । तर, साझा उम्मेदवार प्रकाशमान र शेखरमध्ये एक भएमा त्याग गर्ने बुधबार बताएका थिए । अन्तिममा जति नै छलफल गरे पनि दुई नेताले एकले अर्काका लागि त्याग नगर्ने पूर्ववर्ती अडानमै रहे । अडानमा टसमस भएनन् । त्यसपछि पौडेल पनि चिढिएको बताइन्छ । 

जबकि, पौडेलले बारम्बार साझा उम्मेदवार संस्थापन इतर पक्षबाट तयार हुने बताएका थिए । इतर पक्षको शीर्ष नेता पनि उनै हुन् । यद्यपि, सकेका छैनन् ।

जसका कारण इतर पक्षबाट सभापति पदका उम्मेदवार साझा नहुने सम्भावना बढ्दै गएको छ । साझा उम्मेदवार नभएको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई फेरि सभापति हुन सहज हुने छ र देउवालाई नेतृत्वबाट विस्थापन गर्ने इतर पक्षको सपना चकनाचुर हुनेछ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १०:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया