राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रूपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
कार्यक्रममा उनले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिए । सो क्रममा उनले भने, ‘सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, अदालत अदालतजस्तो छैन । सबैलाई ठीक लगाउने राजनीतिले हो । राजनीतिलाई ठिक लगाउने नेताले हो तर, नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’
उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभई नेतृत्व चयन र बिग्रिएको छवि सुधार गर्ने अवसर पनि भएको बताए ।
मुलुकको जेठो राजनीतिक दल पूर्ण महाधिवेशनको सफलताको कामना गर्दै उनले उनले २०४७ सालपछि कुनै सरकारले पूरा कार्यकाल पुरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नु पर्ने पनि बताए । ‘यस विषयमा हामी सबैले ध्यान दिनुपर्छ’,उनले भने ।
उनले देशको राजनीति लिकबाट बाहिर गएको टिप्पणी पनि गरेका छन् । देशका तीनवटै संवैधानिक अंग लिक बाहिर गएको भन्दै नेताहरूले जनताको विश्वास गुमाएको आराेप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।