दार्चुला– दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलंगाको लालसलाम टोलीले जितेको छ । बिहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १ सय ८५ रनको विशाल स्कोर खडा गरेको थियो । लालसलाम टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले तीन र किरण ठगुन्नाले दुई विकेट लिएका थिए ।
१ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलव एक ओभरमा ९५ रनमै समेटियो । सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टोलीका तर्फबाट करण डडालले तीन विकेट लिए ।
खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टोलीका गौतम धामी र ‘म्यान अफ द सिरिज’ रवि बिष्ट घोषित भए ।
यस्तै, बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको आयोजक अपी चौलानी सृजनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले जानकारी दिए । जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टोलीलाई नगद एक लाख एक हजार १ सय ११, द्वितीयले नगद ६१ हजार १ सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, हरेक खेलका ‘म्यान अफ द म्याच’लाई रु पाँच हजार ५ सय ५५ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका नौ तथा बैतडीका चार वटा गरी कुल १३ टोलीले सहभागिता जनाएका थिए । दार्चुलाका नेपाली कांग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।