कांग्रेसले जुराइदिएको अवसरमा ओली, नेपाल र प्रचण्डको ‘टसमस’
तर लिएनन् कसैले कसैको नाम

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको खबर बाहिरिएसँगै राजनीतिक वृत्तमा संशय पैदा भयो– कतै ओली महाधिवेशनमा अनुपस्थित पो हुन्छन् कि !

यो संशय किन पनि थियो भने, केही दिनअघि एमालेले आयोजना गरेको महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनुपस्थित थिए । नेपाललाई एमालेले निम्ता नै गरेको थिएन, प्रचण्ड निम्ता पाएर पनि गएका थिएनन् ।

विभिन्न आशंका र संशयकाबीच ओली भृकुटीमण्डपस्थित कांग्रेस महाधिवेशनस्थलमा झुल्किए । यी तीनै जना नेता केही समय अघिसम्म एउटै दलमा आवद्ध थिए । ५ पुसमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले गरेको कदमपछि बढ्दै गएको घटनाक्रमले उनीहरूलाई २८ फागुनमा सर्वोच्च अदालतले नै अलग गराइदिएको थियो ।

अदालतको आदेशपछि ओली र नेपाल एमालेमा फर्किएका थिए भने प्रचण्ड माओवादी केन्द्रमा ।

एमालेमै बसेर झण्डै आधा वर्षसम्म गरेको अथक प्रयास विफल भएपछि अन्ततः नेपालले पनि एमाले छाडेर नयाँ दल दर्ता गरेका थिए, ९ भदौमा । अहिले पाँच दलीय गठबन्धनमा कांग्रेससहित प्रचण्ड र नेपाल एकैठाउँमा छन् । तर, ओली आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउँदै बालुवाटारबाट निस्किएर चुनावी अभियानमा होमिएका छन् ।

कांग्रेस महाधिवेशनले जुराएको संयोग



पार्टी विभाजन भएपछि यी तीनै नेताहरु एउटै मन्चमा देखिएका थिएनन् । कांग्रेस महाधिवेशनको संयोगमा उनीहरु एउटै मन्चमा देखिन पाए । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनीहरु तीनै नेतालाई कांग्रेसले निम्ता पठाएको थियो ।

लामो समयपछि थोरै मिटरको दूरीमा बसेका यी तीनै नेताहरुलाई कांग्रेस प्रवक्तासमेत रहेका संचालक विश्वप्रकाश शर्माले लगातार बोल्ने समय मिलाए ।



सुरुमा नेपाल त्यसपछि प्रचण्ड अनि ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामनासहित आफ्ना भनाई राखे । महाधिवेशनले जुराएको यो संयोगलाई तीनै नेताले अर्थपूर्ण रुपमा ‘घोचाघोच’ गरे । तर, कसैले पनि एक अर्काको नाम भने सम्बोधनको क्रममा लिएनन् ।

ओली, प्रचण्ड र नेपालको ‘टसमस’

महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधनका लागि पुगेका नेपालले सुरुमै ओलीको नाम लिन नचाहेको प्रष्ट देखाए । उनले नेपालका सबै ‘पूर्व प्रधानमन्त्रीहरु’ भनेर प्रचण्डसहित ओलीलाई सम्बोधन गरे ।

त्यसअघि उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भने नाम नै लिए ।

सम्बोधनको सुरुमै महाधिवेशन सफलताको साथ सम्पन्न गर्ने शुभकामना दिए । उनले नेपालको राजनीतिमा ‘कालो बादल’ मडारिन लागेको भन्दै प्रतिगामी तत्वहरुलाई फेरि शिर उठाउने दुस्साहस नगर्न भने । उनले नेपालमा राजतन्त्रको कुनै संभावना नभएको भन्दै राजालाई कुनै पार्टी खोल्न र नभए व्यापार गरेर बस्न सुझाए ।

त्यसपछि उनको कटाक्ष सुरु भयो, ओलीतिर ।

नेपालको राजनीतिमा विकृतिहरु कसरी सुरु भए ? भन्नेबारेमा आफ्नो व्याख्या सुनाए । एमालेमा ओलीले अरुको सम्मान नगरेको र मैमत्त भएको प्रतिक्रिया नेपालले यसअघि पनि दिँदै आएका थिए । एउटै मन्च सेयर गर्न पाएका नेपालले ओलीकै अगाडि उक्त झटारो पुनः आज दोहोर्याएका छन् ।

नेपालले सम्बोधनको क्रममा भने, ‘नेपाली राजनीतिक विकृतिहरु के छन्, त्यो विकृति सुरु हुन्छ भ्रष्टाचारबाट, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिबाट, मैमत्त गर्ने प्रवृत्तिबाट, अरुको सम्मान नगर्ने प्रवृत्तिबाट, अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट यसो हुनाले साँचो अर्थमा हामी लोकतन्त्र चाहन्छौं भने लोकतन्त्रको मुल्य र मानयतालाई आत्मसाथ गर्नुपर्छ ।’

त्यसपछि प्रवक्ता शर्माले बोल्ने पालो प्रचण्डलाई दिए ।

५ पुसपछि एकपटक पनि भेट नगरेका प्रचण्डले ओलीलाई आजै भेटेका थिए । त्यो पनि एउटै मन्चमा ।

उनले पनि देउवाको नाम लिए तर ओलीको नाम लिन नचाहेकै प्रष्टाए । समय घर्किएको भन्दै धेरै लामो भाषण नगर्ने भन्दै भाषण सुरु गरेका प्रचण्डले भारतीय जनता पार्टीका नेताले सुःखद आश्चर्यको रुपमा ‘यति धेरै पूर्वप्रधानमन्त्री एउटै मन्चमा कहिल्यै नदेखेको’ भन्दै गरेको आश्चर्यलाई कोट्याए ।

उनलाई आफूले ‘यी सबै पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई बनाएका हुन’ भन्ने सुनाउन चाहेको बताए । प्रचण्डको त्यो आशय ओलीतर्फै इंकित थियो ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनसहित ओलीसँग सहकार्य गरेका प्रचण्ड बेला बेलामा ओलीलाई आफूले प्रधानमन्त्री बनाएको भन्दै आउने गर्छन् । नामै लिएर नभने पनि उनले ओलीलाई नै ईंकित गर्दै अर्थपूर्ण रुपमा व्यक्त गरेका थिए । बेला बेलामा आफूहरु चर्को प्रतिस्पर्धा गर्ने गरेको भन्दै आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गर्ने गरेको बताए ।

उनले कांग्रेस र माओवादीको प्रयासपछि शान्ति प्रक्रियामा आएको बताउँदै स्व. नेता गिरिजाप्रसाद कोइरालाको स्मरण गरे ।

साथै, उनले निरंकुशता विरुद्धको लडाईंमा एकता प्रदर्शन गरेको भन्दै अहिले ओलीलाई सत्ताच्युत गर्न पनि एकबद्ध भएको भाव प्रकट गर्दै लामै भाषण गरे । सँगै, उनले गठबन्धनको सफलता गठबन्धनबाट भएको भन्दै अहिलेको गठबन्धन नभत्काई एक्लै हिँड्ने अहंकार कसैलाई नगर्न आग्रह गरे ।

‘जसले एक्लै हिँड्ने अहंकार गर्यो त्यसको ओरालाको यात्रा सुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ’ प्रचण्डको ओलीतर्फै ईंकित अर्को भनाई थियो ।

त्यसपछि उद्घाटन सत्रको संचालन गरिरहेका शर्माले ओलीलाई समय दिए ।

आफ्ना दुई पूर्वसहकर्मीको नाम उनले लिन चाहेनन् । उनले वर्तमान प्रधानमन्त्री देउवाललाई ‘पूर्वप्रधानमन्त्री’ भनेर सम्बोधन गरे । देउवालाई उनले पुराना मित्रको रुपमा पनि उद्घोष गरे ।

महाधिवेशनको सफलताको शुभकामना दिँदै ओलीले घाम अस्ताउनुअघि नै देउवाललाई बोल्न दिने भन्दै लामो भाषण नगर्ने बताए । राजनीतिक भाषण गर्न आफ्नै पार्टीको मन्च तयार भएको भन्दै ओलीले आफू घोचपेच नगर्ने बताएका थिए ।

‘म भन्दापछि शेरबहादर देउवा पनि बोल्नु छ । उहाँको पालो घाम अस्ताउनुभन्दा अघि नै आए हुन्थ्यो भन्ने मेरो शुभकामना छ, म छोटो बोल्न चाहन्छु ।’

ओलीले नेपाल र प्रचण्डको कटाक्ष बुझिसकेका थिए । र भने, ‘म कसैको कुरामा वाद विवाद गर्नेछैन् ।’ आफ्नो राजनीति आफ्नै मन्चमा पर्याप्त गर्न पाउने भन्दै ओलीले प्रचण्ड र नेपालको कटाक्षलाई वाकपटुता प्रयोग गर्दै काटे ।

साथै, उनले एमाले कांग्रेससँग सँगसँगै अघि बढ्दै आएको भन्दै अब पनि सँगै अघि बढ्ने बताए । उनले केहीदिनअघि मात्रै राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई रापताप भएको भन्दै व्यङ्ग्य गरे । लिङ्देनले नेपालका नेताहरुलाई जनताले ‘चोर’ भन्नेगरेको टिप्पणी सम्बोधनको क्रममा गरेका थिए ।

त्यसपछि उनी खनिन थाले, माधव नेपालप्रति ।

उनको कटाक्ष थियो, ‘केही साना दलहरुलाई नेपाली कांग्रेसले औंलो समाउन दिएन भने के होला ? भन्ने पीर छ, सधैं पीर छ ।’ यसअघि प्रचण्डले गठबन्धन सँगै जानुपर्छ भनेर सम्बोधन गरेका थिए । उनको कटाक्ष नेपाल र प्रचण्डप्रति नै थियो । ‘सरकारबाट हट्नुपर्लाकी भन्ने कतिपयलाई चिन्ता होला, नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन्....’

ओली यति बोल्दाबोल्दै माइक काटियो ।

झण्डै १ मिनेटसम्म ओलीले माइकमा औलाले छोइरहे । फू–फू गरिरहे । बल्ल माइकको साउन्ड थोरै आएको थियो, ओलीले नबोल्ने निर्णयमा पुगे ।

उनी 'शेरबहादुरजीलाई छाडिदिएँ' भन्दै मञ्चतिर हानिए । संचालक तथा प्रवक्ता शर्माले ओलीलाई पुनः आग्रह गरे । मञ्चको सोफामा आएर बसिसकेका ओली पुनः मञ्चतिर गए ।

उनले नेपाली ‘कांग्रेस अरुका नीतिमा होइन्, आफ्ना नीतिमा अरुलाई हिँडाओस्’ भनेर ओली–नेपालतिरै व्यङ्ग्य गरे । साथै, प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री मात्र नभई सरकारको नेता हुने शुभकामना ओलीले दिए ।


  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १९:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया