जसले अनुहारमा वीपीको तस्बिर टाँसेर उनका सिद्धान्त सम्झाए

मुलुकको ठूलो लोकतान्त्रिक दल कांग्रेस महाधिवेशनमा छ । महाधिवेशनले नेतृत्व मात्रै छान्छ । सैद्धान्तिक र वैचारिक पक्षमा बहस गर्दैन ।

नयाँ नेतृत्व आएपछि नीति महाधिवेशन गर्ने भनिएको छ । चार वर्षमा राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिमा आएको फेरबदल, बदलिएको जनताको आवश्यकता, चाहना र तीनको सम्बोधनका लागि वैचारिक र सैद्धान्तिक मार्गचित्र तय गर्ने दायित्व नीति महाधिवेशनको हुन्छ ।

तर, कांग्रेसमा यस्तो यसअघि भएको थिएन । महाधिवेशनमा नेतृत्व मात्रै छान्ने नभई वैचारिक र सैद्धान्तिक पक्षमाथि घनिभूत बहस गरेर नीति कार्यक्रम पास हुन्थ्यो । यसपटक नहुने भएपछि महाधिवेशन उद्घाटन सत्र भएको काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा यसप्रति असन्तुष्ट दुई जना कार्यकर्ता भेटिए ।

पहिलो कार्यकर्ताले अनुहारमा टाँसेका थिए, वीपी कोइरालाको तस्बिर । छातीमा झुण्ड्याइएको थियो पम्प्लेट र लेखिएको थियो, ‘तिमीले मलाई बिर्सेउ ।’ भिर्ने चाहिँ रहेछन्, झनकबहादुर । थर खुलाएनन् ।

यसबाट एउटा सन्देश स्पष्ट गयो – कांग्रेसले वीपीको प्रजातान्त्रिक समाजवादलाई बिर्स्यो । सम्झिनुपर्छ । व्यावहारिक रूपमा प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानुपर्छ ।

तर, वीपी विचारधाराप्रति बफादार नभएको आरोपको सामना वर्तमान कांग्रेस नेतृत्वदेखि पदाधिकारीसँगै केन्द्रीय सदस्यहरूले गर्दै आएका छन् । हुन पनि वीपी र उनका विचारलाई बिर्सेको भान थुप्रै कांग्रेसीजनलाई लागेकै छ ।



त्यही भएर खबरदारी गर्नुपरेको झनकबहादुर बताउँछन् । उनका अनुसार कांग्रेसको संस्थापक र वैचारिक नेता वीपीलाई नेताहरूले बिर्सेका छन् । यसप्रति उनको चित्त दुखाइरहेछ ।

उनले भने, ‘वीपीलाई बिर्सिन थाले । याद गर्न छाडियो ।’



२००३ सालमा राणाशासन ढाल्न र देशमा प्रजातन्त्र ल्याउन स्थापित कांग्रेसको संस्थापक मध्येका एक हुन् कोइराला । उनै कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको जगमा कांग्रेस उभिएको छ ।

त्यही भएर नेताहरू भन्न चाहिँ वीपीको सपना साकार यही कांग्रेसले गर्छ भन्छन् । तर, ती संस्थापक नेताको विचार र सिद्धान्तलाई भने बिर्सेको भन्दै थुप्रै झनकबहादुरहरू खुसी छैनन् ।

‘वीपी यो देशको परिवर्तक हो । विचारको परिवर्तक हो । व्यवस्थाको परिवर्तक हो, कांग्रेसले बिर्स्यो’, झनकबहादुर बताउँछन् ।

उनको यो कुरा सुनेपछि अर्का वृद्धावस्थाका महाधिवेशन प्रतिनिधि भेटिए । शिर र गलामा वीपीको तस्बिर भएको लोगो लगाएका रहेछन् ।

कुनै नेताका लागि भोट पनि माग्दै गरेका उनले वीपीको विचार र गरेका योगदानलाई कांग्रेसले बिर्सिँदै गएपछि सम्झना गर्न लगाएको बताए ।

‘पार्टीमा विचार महत्त्वपूर्ण हुन्छ । पार्टी चल्ने भनेकै विचारले हो । सिद्धान्तले हो । तर, हाम्रोमा विचारको बहस हुन छाड्यो । छलफल हुँदैन । विचार त सामयिक हुनुपर्छ । आवश्यकताअनुसार संशोधन हुनुपर्छ । त्यसो हुँदा पार्टी मजबुत र बलियो हुन्छ’, ती महाधिवेशन प्रतिनिधिले बताए ।

निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुँदै गरेको कांग्रेसको यो महाधिवेशन १४ औं हो । ढिला गरी हुँदै गरेको महाधिवेशनमा पनि कांग्रेसले वैचारिक र सैद्धान्तिक सवालमा छलफल नगर्ने निश्चित छ ।

बरु बन्द सत्रमा महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको सांगठनिक प्रतिवेदन पेश हुनेछ । कोषाध्यक्ष सीतादेवी यादवको लेखा प्रतिवेदन र परिमार्जित विधानसम्बन्धी प्रस्ताव पेश हुने भएको छ ।

यसरी यसपटक कांग्रेस महाधिवेशनमा वैचारिक र सैद्धान्तिक छलफल भएर नीति तथा कार्यक्रम तय हुँदैन । यस्तो अवस्थामा दुई कार्यकर्ताले भए पनि कांग्रेस नेतृत्वलाई खबरदारी गरेको देखियो ।


  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २०:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया