प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई फेरि सभापति हुनबाट रोक्न साझा उम्मेदवार तयार गर्नेबारे संस्थापनइतर पक्षको बैठक जारी छ ।
बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भइरहेको छ ।
साँझदेखि सुरु भएको बैठकमा नेताहरू साझा उम्मेदवार तयार गर्ने विषयमै छलफलमा केन्द्रित रहेको केन्द्रीय सदस्य जगदीश्वर नरसिंह केसीले बताए ।
बैठकस्थल बाहिर रहेका उनले भने, ‘हाम्रो दबाब सभापति पदको एउटै र साझा उम्मेदवार हुनुपर्छ भन्नेमा छ । हामी सुखद् परिणामको प्रतीक्षामा छौँ । पक्कै एकैजना उम्मेदवार हुनेछन् आशा गरौँ ।’
बैठकमा सभापति पदका दाबेदारहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला छन् । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरू पनि छलफलमा छन् ।
१४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता गर्ने समय केही घण्टा बाँकी रहँदा इतर पक्ष साझा उम्मेदवार सभापति पदमा तय गर्न छलफलमा जुटेका हुन् ।
संस्थापन पक्षबाट भने सभापतिमा देउवा उम्मेदवार हुने निश्चित भएको छ । उनले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भोट पनि मागेका छन् ।
स्थानीय सरकार कांग्रेसकै र राष्ट्रिय सरकार पनि कांग्रेसकै बनाउन आफूलाई जिताउनुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।