४४ दिनपछि बस्दै बागमती प्रदेशसभाको बैठक
जम्मा ३ विजेनस !

बागमती प्रदेशसभाको बैठक ४४ दिनपछि बस्ने भएको छ । प्रदेशसभा सचिवालयले पुस ७ गते प्रदेशसभाको बैठक बस्ने सूचना जारी गर्दै जानकारी दिएको हो ।  मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री नियुक्त भएर शपथग्रहणपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

देशका ठूला राजनीतिक दलहरूको महाधिवेशनको समय भएकोले प्रदेशसभाको बैठक अन्योलमा परेको थियो । लामो समयपछि प्रदेशसभाको बैठक बस्न लागे तापनि बिजनेस भने सरकारले खासै दिन सकेको छैन । अहिले प्रदेशसभामा एउटा विधेयक समितिबाट पास भएको छ भने एउटा समितिमा छलफल हुँदैछ ।

यस्तै, एउटा प्रदेशसभा सचिवालयमा दर्ता मात्रै भएको छ ।  प्रदेशसभाबाट उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित हुन बाँकी छ । यस्तै, प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक रहेको छ ।

बागमती प्रदेशसभामा अहिलेसम्म पनि अतिआवश्यक ४५ कानुन निर्माण हुन सकेका छैनन् । प्रदेशसभाले हालसम्म ६२ वटा ऐनहरू संशोधनसहित पारित गरेको बागमती प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले जानकारी दिए । यस्तै, प्रदेशमा ८२ वटा कानुन निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन् । 

संसदीय समितिले सरकारको काम कारबाही अनुगमन गर्ने, सल्लाह, सुझाब र निर्देशन दिने भए पनि बागमतीका अधिकांश समितिका बैठक नै बस्दैनन् । बागमती प्रदेशसभा सचिवालयका अनुसार गत आव ०७७–०७८ मा प्रदेशका ५ वटा समितिका बैठक जम्मा ५९ पटक मात्र बसेका थिए ।

प्रदेश मामिला समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको १३–१३ पटक, सार्वजनिक लेखा समितिको १२ पटक, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र अर्थ तथा विकास समितिका बैठक ९–९ पटक बसेका छन् ।



सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन, आर्थिक मामिला, भौतिक पूर्वाधार निर्माण हेर्ने महत्वपूर्ण अर्थ विकास समितिको बैठकसमेत एक वर्षमा जम्मा ९ पटक मात्र बसेको छ । चालु आर्थिक वर्षमा भने समितिको बैठक बस्ने संख्या तुलनात्मक रूपमा बढेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २१:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया