काठमाडौं– सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिका सम्बन्धमा पछिल्लो समय भइरहेको आलोचनात्मक टिप्पणीमाथि असन्तुष्टि जनाएका छन् ।
गत २९ कात्तिक र ३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन पत्रकार सम्मेलन गरेका मन्त्री बाँस्कोटाले राष्ट्रपतिका निम्ति हेलिप्याड बनाउन प्रहरी प्रतिष्ठान सार्ने निर्णय गलत नभएको जिकिर गरे ।
‘राष्ट्रपति बाहिर जाँदा वा स्वदेश आउँदा काठमाडौंको यातायात अस्तव्यस्त हुन्छ । त्यतिबेला मिडियाले चर्को आलोचना गर्ने गरेको छ,’ मन्त्री बाँस्कोटाले भने, ’त्यहाँ एउटा हेलिप्याड राख्न सक्दा सजिलै हुन्छ। त्यसले केही फरक पार्ने पनि होइन ।’
सहरको मध्यभागमा प्रहरी प्रशिक्षण केन्द्र सुहाउँदिलो नभएको भन्दै उनले राष्ट्रपतिको आलोचना ‘न्याउरी मारी पछुतो’ हुन सक्ने चेतावनीसमेत दिए ।
समाजकल्याणको भवनमा उपराष्ट्रपतिलाई राख्ने सरकारको निर्णय स्मरण गराउँदै मन्त्री बाँस्कोटाले समाजकल्याणको भवन कसैले दान वा अनुदान दिएर नभई नेपाल सरकारले आफैँ बनाएको उल्लेख गरे ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यकारी र संवैधानिक दुवै भएको मन्त्री बाँस्कोटाको बुझाइ थियो । उनले भने, ‘परिस्थितमा हुँदा संवैधानिक र कारणवश असहज परिस्थिति आयो भने उहाँहरू कार्यकारी हुन सक्ने ठाउँ होला कतै ।’
आफूहरूले राजाको कल्पना नै नगरेको भन्दै उनले प्रश्न गरे, ‘राष्ट्रपतिलाई गाडी किन्नासाथ राजाको ठाउँमा बदलिन्छ ? राष्ट्रपति राजतन्त्रमा बदलिन्छ ?’
‘के राष्ट्रपतिले साइकल नै चढ्नुपर्यो त ?’ मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘के हामीले सुरक्षाको कुनै प्रबन्ध गर्नुपर्दैन ? केही भयो भने जिम्मेवारी कसले लिन्छ ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।