ओलीलाई गगनको जवाफ - टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ

नेपाली कांग्रेसका नेता गगन थापाले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्रमा आफ्नो शुभकामना दिँदै थापाको घोषणापत्रबारे ओलीले टिप्पणी गरेपछि नेता थापाले त्यसको जवाफ फर्काएका हुन् ।

बिहीबार उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका थिए । त्यसलाई ओलीले आफूले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नाराको विस्तारित रूप भएको टिप्पणी गरेका थिए ।

उनले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घोषणापत्रबारे टिप्पणी गर्न हतार गरेको उल्लेख गरेका छन् । 'आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको 'समुन्नत नेपालःसम्मानित नेपाली'को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ' उनले भनेका छन् ।

संविधान जारी भएपछिको १३औँ महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब 'समुन्नत नेपालःसम्मानित नेपाली'को निर्माणमा समर्पित हुने पर्ने आफ्नो प्रस्ताव रहेको उल्लेख गर्दै उनले नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रूपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको बताएका छन् ।

'मैले २०७२मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब 'समुन्नत नेपालःसम्मानित नेपाली'को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु' उनले भनेका छन् ।

'यो महाधिवेशनपछि सैद्धान्तिकरुपले पुनर्जागृत र रुपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र 'समुन्नत नेपालःसम्मानित नेपाली'को सङ्कल्प सहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ। त्यतिञ्जेलसम्मका लागि जय नेपाल!' उनको भनाइ छ ।



 



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १४:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया