सभापतिका आकांक्षी थिए तर कुनै पनि पदमा दिएनन् उम्मेदवारी

नेपाली कांग्रेसको सभापतिका आकांक्षीका रूपमा चर्चामा रहेका दुई नेताले कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा यी दुवै नेताले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताको समय शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म थियो ।

पौडेलले कांग्रेसको सभापति आकांक्षी थिए । उनले सभापतिको साझा उम्मेदवार बन्नका लागि आफ्नो समूहमा निकै प्रयाससमेत गरेका थिए । यद्यपि, उनले प्रकाशमान सिंह र शेखर कोइरालाले आ-आफ्नो अडान नछाड्दा साझा उम्मेदवार छान्न सकेनन् । आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि निराश बनेका उनले एक विज्ञप्तिमार्फत पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका थिए ।

उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका थिए ।  पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलो मात्र नभएर स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनको भनाइ थियो । उनले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरू सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गरेका थिए ।

त्यस्तै, कांग्रेसमा सभापतिको अर्का आकांक्षी थिए सिटौला । सभापतिमा उठ्नेबारे आफ्नो समूहमा छलफल चलाएर पनि उम्मेदवारी भने दिएनन् । तर उनले सभापति शेरबहादुर देउवासँग सहमति गरेर आफ्ना समूहका नेताहरूलाई महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यको उम्मेदवार बनाए । उनी महामन्त्रीमा प्रदीप पौडेललाई अघि सार्दै देउवाको प्रस्तावक बसेका हुन् ।

कांग्रेसको १४ महाधिवेशनअन्तर्गत अहिलेसम्म सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १७:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया