सात वर्ष बितिसक्दा पनि स्वास्थ्यचौकीको भवन निर्माण हुन सकेन

बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्य चौकीको भवन निर्माण कार्य अलपत्र परेको छ । निर्माण थालिएकोे सात वर्ष बितिसक्दा पनि स्वास्थ्यचौकीको भवन निर्माण हुन सकेको छैन । 

भवन निर्माणका लागि २०७२ साल मंसिर १३ गते एक करोड ६९ हजार १६ हजार ५३२ मा यमकेदेवी सिंह जेभी धनगढीसँग सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको, तर सातवर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ ।

निर्माणको जिम्मेवारी पाएको कम्पनीले स्थानीय बमबहादुर शाहीलाई जिम्मेवारी दिएको भए पनि काममा ढिलासुस्ती भएको छ । ठेकेदारले नै कामका लागि निर्माण सामग्री नपठाउने र अख्तियारी नदिने गरेकाले आफूले केही गर्न नसकेको शाहीले बताए । संघीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीले हेर्ने गरी निर्माण थालिएको थियो ।  

कार्यालयका सब इन्जिनियर अभिषेक मलासनीका अनुसार काम गर्ने ठेकेदारको लापरबाहीका कारण भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण गर्ने ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि अटेरी गरी काम नगर्ने गरेको कार्यालयले जनाएको छ। 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्वास्थ्य चौकी भवन निर्माणका लागि भन्दै तीन–तीनपटकसम्म म्याद थप गरेको भए पनि काम सम्पन्न हुन सकेको छैन । समयमा नै भवन निर्माण नहुँदा स्वास्थ्य चौकी जीर्ण भवनमा सञ्चालन गर्नुपरेकोे स्वास्थ्य चौकी इन्चार्ज बद्री सुनारले बताए । 

अहिले पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ । प्रसूति सेवादेखि स्वास्थ्य उपचार सेवा पनि एउटै कोठामा गर्नुपरेको सुनारको भनाइ छ। 



स्वास्थ्य चौकीमा उपचारका लागि दैनिक २० जनाभन्दा बढी आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ । २०६८ सालको जनगणनाअनुसार जयबागेश्वरीमा ४७३ घर परिवारका स्थानीय उपचार गर्ने स्वास्थ्यचौकी भनेकै जयवागेश्वरी स्वास्थ्यचौकी हो ।



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया