कांग्रेस राजनीतिबाट किन टाढिदै छन् पौडेल र सिटौला ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । 

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । 

त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् । 

साझा बन्न नसक्दाको पीडा

वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्न हरसम्भव प्रयास गरे । शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई मनाउन नसक्दा अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने उनको धोको पूरा हुन सकेन । 

साझा उम्मेदवार नभए आफूले पार्टी नै छाड्ने धम्की दिएको भए पनि उनको त्यो 'तुरुप' ले काम गरेन । 



शशांक ब्याक भएका थिए । शेखरले पनि प्रकाशमान ब्याक भए आफूले पौडेलाई साथ दिने बताएका थिए । तर, प्रकाशमान ब्याक हुन चाहेनन् । जसका कारण रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न सकेनन् । 

साझा उम्मेदवार बन्न नसक्दा फेरि पनि १३ औं महाधिवेशनमा जस्तै पराजयको भय उनमा थियो। जसका कारण आफ्नो टिमको व्यवस्थापन भन्दा बाहिरै बस्ने सोच उनले बनाए र विज्ञप्ति निकालेर पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो बनेको उल्लेख गर्दै पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताए। 



देउवालाई चुनौती दिने नेताको रुपमा महाधिवेशन उद्घाटनका दिन सम्म कांग्रेसी कार्यकर्ताले ठानेको भए पनि उनले अप्रत्याशित रुपमा प्रतिस्पर्धाबाट बाहिरिने जानकारी गराए । 

कतिपयले सभापतिबाट मात्र ब्याक भएको ठानेका भए पनि उनले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन्, जसलाई उनको लामो राजनीतिक जीवन अन्त्यतिर पुगेको रुपमा कतिपयले हेरिरहेका छन् । तर, पौडेलले भने महाधिवेशनमा प्रतिस्पर्धा नगरे पनि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन् । 

'प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें' पौडेलले भनेका छन्, 'तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु' उनले भनेका छन् । 

देउवालाई साथ

१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारको रुपमा लिने गरिएको छ । यसअघिको महाधिवेशनमा गगन थापा समेत उनको समूहमा थिए । यसपटक पनि सिटौलाले उम्मेदवारी दिने अनुमान धेरैले गरेका थिए तर उनले सभापतिमा मात्र होइन केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् । 

आफूलाई साथ दिएका प्रदीप पौडेल लगायतलाई संस्थापनसँगको सहकार्यमा उम्मेदवार बनाउन सफल भएका सिटौलाले कांग्रेसको राजनीति गर्न केन्द्रमा रहनु नै नपर्ने बताएका छन् ।

आफूलाई तेस्रो धारको रुपमा कांग्रेसमा स्थापित गराउँदै गर्दा सिटौलाले आफू पक्षधर महाधिवेशन प्रतिनिधि र नेताहरु बनाउन सकेनन् । जसका कारण स्पष्ट रुपमा कुनै पक्षसँग बार्गेनिङ गर्न सक्ने क्षमता उनमा कमजोर बन्दै गयो र उनले सभापतिमा उम्मेदवारी दिनु ठिक ठानेनन् । 

केन्द्रीय सदस्यमा चुनाव लडेर अबको दिनमा कांग्रेसमा नेतृत्व गर्न सकिने सम्भावना सम्भवत: उनले देखेनन् । नयाँ पुस्ता पदाधिकारीमा आइरहँदा सिटौलाले त्यसलाई स्वीकार गरेका छन् र आफू पक्षधरलाई स्थापित गर्ने ध्याउन्नमा लागेका छन् ।  - न्युज कारखाना

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया