एमाले र कांग्रेसले अधिवेशनलाई भीड जम्मा गर्ने थलो बनाएको प्रचण्डको टिप्पणी

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् ।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकै साथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन् ।

एमाले अधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिँदै उनले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनका रुपमा सम्पन्न भएको बताए । त्यस्तै, अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।

‘अरु पार्टीले ठुल्ठूला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन् । तपाईं हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । तर ती सबै एमाले त मैले त त्यसलाई पञ्चर्यालीभन्दा अरु देख्दिनँ । त्यो बिल्कुल पञ्चर्याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो । त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको, विचार शून्यता र विचारहीनताको अधिवेशनको रूपमा गयो त्यो । दुनियाँले देख्यो' उनले भने ।

अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टीभित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाइ छ । उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए ।

उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया