शुक्रबार रातिका दुई घन्टा जसले विश्वप्रकाशलाई विमलेन्द्रबाट छुटाएर प्रकाशमान सिंहकहाँ पुर्यायो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । तर, यसअघि सोचिएजस्तो उनले विमलेन्द्र निधिको प्यानलबाट होइन, प्रकाशमान सिंहलाई सभापति मानेर महामन्त्रीमा उम्मेदवारी दिएका छन् । 

केही पहिलेसम्म सभापति शेरबहादुर देउवासँग अत्यन्त निकट भएका विश्वप्रकाश देउवाबाट छुटेर विमलेन्द्र निधिकहाँ पुगेनन् मात्र, त्यहाँबाट पनि छुटेर प्रकाशमान सिंह कहाँ पुगेका छन् ।

आखिर किन विमलेन्द्रको टिममा छन् भनिएका विश्वप्रकाश प्रकाशमान सिंहसम्म पुगे त ? 

‘उहाँको शुक्रबार राति दुई घन्टाभन्दा बढी समय प्रकाशमान सिंहसँग कुराकानी भएको थियो,’ प्रकाशमान सिंह निकट एक नेताले फरकधारलाई बताए, ‘त्यसपछि उहाँले विमलेन्द्र निधिलाई छाडेर प्रकाशमान सिंहलाई रोज्नुभएको हो ।’

त्यसो त शनिबार संस्थापन इतर समूहका अर्का सभापतिका दाबेदार शेखर कोइरालाको टिममा पनि महामन्त्रीमा नै विश्वप्रकाश शर्मा पर्न सक्ने अनुमान गरिएको थियो । तर, यो समूहका महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिन नमानेपछि शर्माको यो सम्भावना टरेको थियो ।

यसअघि देउवालाई समर्थन गर्दै आएका विश्वप्रकाशलाई देउवाले चाहिँ सहमहामन्त्रीमा उम्मेदवारी दिन अनुरोध गरेका थिए । तर, यसलाई शर्माले मानेनन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २२:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया