कांग्रेस महाधिवेशन : ३ वटा केन्द्रका ११ सय बुथबाट हुने छ मतदान

नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । 

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।   

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । 



पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।  यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 



  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १६:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया