कांग्रेस महाधिवेशन : सभापतिका आँटिला युवा उम्मेदवार !

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने एक्ला युवा नेता हुन्, कल्याणकुमार गुरुङ । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । सभापति पदमा उम्मेदवारी घोषणा गर्दैगर्दा यसअघि नै भनेका थिए, ‘म कल्याणकुमार गुरुङ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुन्छु र 'बार्गेनिङ'का लागि उम्मेदवारी घोषणा होइन ।’

नभन्दै शनिबार १४ औँ सभापति हुन उम्मेदवारी दर्ता भयो । आइतबार मध्याह्न १ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो । फिर्ता गरेनन् । सभापति पदको पक्का उम्मेदवार भए ।

अब, मतदान सोमबार बिहानदेखि हुनेछ । उनको विजय वा पराजय के हुन्छ ? परिणाम कुर्नुपर्छ । उनका प्रतिस्पर्धीहरू छन्, शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह र विमलेन्द्र निधि ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ छ । जसमध्ये गुरुङको पक्षमा कति मतदाताले मतदान गर्छन् ? यसै भन्न सकिन्न ।

तर, यो महाधिवेशनमा गुरुङको सभापति पदमा भएको उम्मेदवारीको अर्थ छ । त्यो हो – कांग्रेस पार्टीको नेतृत्व युवाले गर्नुपर्छ । गर्न सक्छन् र त्यसका लागि युवा नेता वृद्ध नेताको पछि लाग्ने होइन । सभापति पदमा निर्वाचन लड्नुपर्छ ।

गुरुङको उम्मेदवारीले यसरी युवा पुस्ताका नेताहरूमा प्रोत्साहन र हिम्मतको सञ्चार प्रवाह हुन्छ । उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पनि हुन् ।



उनले शनिबार सभापति पदमा मनोनयन दर्तापछि नेता कार्यकर्ताको जोडबलमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै सभापति पदमा उम्मेदवारी दिएको बताए ।

‘७७ वटै जिल्ला, विश्वभरि रहेका कांग्रेसका जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरूले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी अब नयाँ पुस्ताले सम्हाल्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्छ । नेपालको नेतृत्व पनि नयाँ पुस्ताले गर्नुपर्छ भन्नुभयो’, उनले फरकधारसँग भने, ‘त्यसैले उहाँहरूको चाहनालाई ध्यान दिएर नयाँ पुस्ता र युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गरेको छु ।’



कांग्रेसमा परिवर्तन, न्याय र समानताको पक्षमा उभिने सीमित नेतामध्येमा गुरुङ पर्छन् । त्यही भएर महाधिवेशन प्रतिनिधिहरूले साथ दिने उनको विश्वास छ । साथ दिएको अवस्थामा सभापति पदमा निर्वाचित हुने बताए ।

‘मलाई के लाग्छ भने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू परिवर्तन, न्याय र समानताको पक्षमा हुनुहुन्छ । उहाँहरूले परिवर्तन, न्याय र समानताकै पक्षमा मतदान गर्नुहुन्छ र जति महाधिवेशन प्रतिनिधिलाई मैले भेटेँ, उहाँहरूले हामी तपाईंलाई मतदान गर्छौँ भन्नु भएको छ । उहाँहरू सबै महाधिवेशन प्रतिनिधिले मलाई मतदान गर्नुभयो भने म नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा निर्वाचन पनि जित्छु’, गुरुङ बताउँछन् ।

उनका अनुसार कांग्रेसलाई भागबण्डाले बर्बाद पारेको छ । भागबण्डा हुनुको कारण गुटबन्दी हो । गुटबन्दी पार्टीलाई विधानअनुसार सञ्चालन नगर्दाको परिणाम भएको उनको ठम्याइ छ । त्यसैले विधानसम्मत पार्टी सञ्चालन गरेको अवस्थामा गुटबन्दी र भागबण्डा दुवै अन्त्य हुने मत राख्छन् ।

र, गुरुङले समावेशी कोटाको सुविधा एक व्यक्तिले एकपटक मात्रै उपभोग गर्नुपर्ने बताएका छन् ।

यसरी नवीन एजेण्डा अघि सारेर युवा नेता गुरुङ सभापति पदको दौडमा छन् ।

विडम्बना ! कांग्रेसमा पुस्तान्तरणको मुद्दा वर्षौंदेखि उचाल्ने १२ युवा नेताले भने सभापति पदमा उम्मेदवारी दिएनन् । उनीहरूको आँट पुगेन । अर्थात् हिम्मतिला देखिएनन् ।

उनीहरूको समूह ‘१२ भाइ’ भन्ने छ । जहाँ धनराज गुरुङ, जीवन परियार, डा. चन्द्र भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, रत्ना शेरचन, कमला पन्त, रामकृष्ण यादव, किरण यादव, सरिता प्रसाईं र प्रदीप पौडेल छन् ।

सभापति पदमा निर्वाचन लड्ने इच्छा यीमध्येका थापाले पनि गरेका थिए । अन्तिममा मनोनयन दर्ता गरेनन् ।

१२ भाइको स्पेस 

कांग्रेसको परिमार्जित विधानअनुसार पदाधिकारीमा १३ जना निर्वाचित हुन्छन् । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट मनोनीत हुने हो ।

सभापतिमा आँट नगरे पनि १२ भाइमध्ये दुई जनाले उपसभापति पदमा आँट गरेका छन् । उनीहरू हुन् धनराज र चन्द्र भण्डारी । संयोगले उनीहरूको प्यानल एउटै भएको छ । सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलमा उनीहरू अटाएका हुन् । 

महामन्त्रीमा पनि समान दुई जना नेता छन् । गगन र प्रदीप । गगन, शेखर प्यानलबाट उम्मेदवार छन् । प्रदीप, शेरबहादुर देउवाको प्यानलमा छन् ।

सर्वाधिक सहमहामन्त्रीमा १२ भाइमा रहेका चार युवा नेताको उम्मेदवारी परेको छ, जीवन परियार (दलित), बद्री पाण्डे (पिछडिएको क्षेत्र), रामकृष्ण यादव (मधेसी) र कमला पन्त (महिला) । उनीहरू सबै शेखर प्यानलका हुन् ।

सभापति पदमा नभए पनि यी आठ नेताको उम्मेदवारी पदाधिकारीमा परेको हो । क–कसले जित निकाल्छन् ? त्यसका लागि भने मत परिणामसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार २०:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया