शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइतबार दिउँसो पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालयको आकस्मिक निरीक्षण गरेका छन् ।
मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको त्यहाँ कुनै पूर्वतयारी भएको थिएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सीधै कक्षा कोठामा प्रवेश गरे।
नौलो व्यक्ति कक्षामा प्रवेश गरेलगत्तै पाँच कक्षाका सबै विद्यार्थी आफ्नो स्थानबाट उठे। शिक्षामन्त्री पौडेलले उनीहरुलाई बस्न लगाएर विद्यालयमा पढाइको विषयमा सोधेका थिए ।
जवाफमा सबै विद्यार्थीले शिक्षक कक्षा समयमा सधैँ समयमै उपस्थित हुने गरेको र आफूहरुले नियमित गृहकार्य गर्ने गरेको मन्त्री पौडेललाई बताए।
मन्त्री पौडेल एक्कासि विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म मानेका थिए ।
शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढंगले जिम्मेवारी निर्वाह भए–नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए।
राजधानी काठमाडौंका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले कमजोरी फेलापरेको खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।