नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरू अन्तिम कसरतमा छन् ।
मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।
सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ ।
तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।
शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने, ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर, समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’
यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो ।
शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।