कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासमा विभिन्न देशले सीमा प्रतिबन्धदेखि लकडाउनसम्मको रणनीति अपनाइरहेका बेला नेपालमा भने प्रमुख पार्टीका अधिवेशनका नाममा मानिसको भीड जम्मा गर्ने काम भइरहेको छ ।
नेपाल सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन प्रसार कम गर्न स्वास्थ्य मापदण्डमा कडाइ गरेको प्रतिक्रिया दिए पनि राजधानीमा जारी सत्तारूढ दल नेपाली कांग्रेसको अधिवेशनले त्यसलाई खिल्ली उडाएको भान हुन्छ ।
राजधानीमा आगामी नेतृत्व चयनका लागि अहिले कांग्रेसको १४ औँ महाधिवेशन तीन दिनदेखि चलिरहेको छ । देशभरका कांग्रेसका प्रतिनिधि, शुभेच्छुक तथा समर्थक जम्मा भएर कांग्रेसको आगामी नेतृत्वका लागि भोट माग्ने, प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।
केही दिनअघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) काठमाडौंमा र नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको थियो । तीव्र रूपमा फैलिने कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असरलाई बेवास्ता गर्दै प्रमुख दलहरूले अधिवेशन गरिरहेका हुन् ।
यता, विज्ञहरूले पार्टीहरूका महाधिवेशन कोरोना भाइरसलाई गाउँगाउँसम्म फैल्याउने माध्यम बन्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विभिन्न जिल्लाबाट राजधानी आइपुगेका यी प्रतिनिधि घर फर्किँदा कोरोना पनि सँगै लिएर जाने डर बढेको उनीहरूको भनाइ छ ।
यस विषयमा जनस्वास्थ्यविद् बाबुराम मरासिनी भन्छन्, ‘महाधिवेशनमा आउने अधिकांश व्यक्तिहरूले कोभिडविरुद्धको खोप लगाएका छन् । तर पनि खोप लगाएको हो भन्दैमा पूर्ण सुरक्षित भने हुँदैन ।’
उनका अनुसार महाधिवेशनमा आउने सबैले खोपको पूर्ण डोज लगाए पनि शतप्रतिशत सुरक्षित भन्ने हुँदैन । कोरोना संक्रमण फैलिन नदिन मास्क लगाउने, पटक-पटक हात धुने, स्यानिटाइजर लगाउने, २ मिटरको दूरी कायम गर्नुपर्ने मापदण्ड सरकारले तय गरेको भए पनि महाधिवेशनमा त्यो सम्भव हुँदैन ।
कांग्रेसको जारी महाधिवेशनमा आएका नेता कार्यकर्ताले यी नियम पालना गरेको पनि देखिँदैन । बिहान १० बजेदेखि प्रदर्शनी मार्गमा नेता कार्यकर्ता भीड जम्मा हुन्छ भने मास्कसमेत नलगाइ यता-उता हिँडेको देखिन्छ । त्यहाँको परिवेश देख्दा ‘मान्छेको भीड नो-कोभिड’ जस्तो लाग्छ ।
महाधिवेशनस्थलमा कार्यकर्ताहरूले पार्टीको झण्डा र नेताको नामसहित मास्क बाँडिरहेका पनि छन् । यद्यपि, बाँडिएको मास्कसमेत नलगाउने गरेको कार्यकर्ताको भनाइ छ । यस्तो भीडमा मास्क किन लगाउनु भए त भनेर एक महिला कार्यकर्तालाई सोध्दा उनले हाँस्दै भनिन्, ‘मास्कमा सबै लिपिस्टिक र मेकअप लाग्छ त्यहीँ भएर’
कोभिडको महामारी केही मत्थर भएको भन्दैमा यस्ता गतिविधि पुन: गर्दा घातक सावित हुन्छन् होला नि भन्ने प्रश्नमा जनस्वास्थ्यविद् मरासिनी भन्छन्, ‘यस्ता गतिविधिले संक्रमण फैलन सक्छ । कतिपयलाई गम्भीर समस्या नदेखिन सक्छ तर सर्ने सम्भावना भने प्रवल हुन्छ । त्यसैले सचेत बनौँ । मास्कको प्रयोग अनिवार्य प्रयोग गरौं ।’
गत वर्ष पनि राजनीतिक पार्टीका विभिन्न कार्यक्रम भएका थिए । पहिलाको जस्तो रफ्तारले नफैलिए पनि कोरोना भने सर्ने डा. मरासिनीको भनाइ छ ।
'महाधिवेशनमा देशका विभिन्न ठाउँबाट मानिस आएका छन् । कोरोनाविरुद्ध दुई डोज खोप लगाए पनि मास्कको प्रयोग नगर्दा आफ्नो क्षेत्रमा कोरोना लिएर जाने सम्भावना प्रवल छ' उनी भन्छन्, ‘खोप लगाएकै भए पनि अनिवार्य रूपमा मास्कको प्रयोग नगर्दा फाटफुट रूपमा कोरोनाको संक्रमण बढ्ने सम्भावना रहेको छ । ’
प्रतिनिधि नै गाउँघरमा कोरोना पुर्याउने वाहक बन्न सक्छन्
उनका अनुसार ग्रामीण क्षेत्रमा अझै सबैले खोप लगाएका छैनन् । केहीले पहिलो डोज मात्र लगाएका छन् । महाधिवेशन प्रतिनिधिकै परिवारकै कुरा गर्दा पनि १८ वर्षमुनि खोप लगाएका छैनन् । यसले गर्दा परिवारका सदस्य र पूर्ण खोप नलगाएका व्यक्तिका लागि खतरा निम्त्याउन सक्छ ।
यस बारेमा डा. मरासिनी भन्छन्, ‘यस विषयमा भने पोहोर भएका केही गल्तीबाट हामीले पाठ सिक्नुपर्छ । पोहोरको तुलनामा यस वर्ष धेरै मानिसहरूले भ्याक्सिन लगाइसकेको हुनाले केही कम मात्र हुने हो । नत्र खतरा त भोग्दै आएको खतरा नै हो ।’
यसरी भइरहेका महाधिवेशनले नयाँ नेतृत्व त पाउला तर क्षतिको कारण भने नबनोस् भन्नका लागि सामाजिक दूरी तथा कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नु पर्नेमा जोड दिन्छन्, जनस्वास्थ्यविद् मरासिनी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।