नेपाल र प्रचण्ड कम्युनिस्ट आन्दाेलनलाई कमजाेर पार्ने मिसनमा हुनुहुन्छ : महासचिव पाेखरेल
फाइल फाेटाे

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दावी गरेका हुन् ।

उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाए ।

महासचिव पाेखरेलले भने, ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ । कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने वित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा समर्पित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको सिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए । त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो ।
हाम्रै आन्दोलनको लामाे समयमा नेताका रूपमा रहनुभएका माधव नेपालले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो ।’ 

‘आज प्रचण्ड र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभएकाे छ । दक्षिणपन्थी अवसरवाद भनेको यही त हो नि । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मकसद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ’, पाेखरेलले थपे ।

महासचिव पोखरेलले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको पनि बताए ।



एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औँल्याए ।



  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १५:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया