पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण : विवेकशील साझा

विवेकशील साझा पार्टीले पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र बोर्ड : साम्राज्यवादको विकसित रूप’ भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैर जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ,’ विवेकशील साझाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । 

पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको आरोप विवेकशील साझाले लगाएको छ । 

‘आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पुँजी बजार बजार कुनै बाह्य प्रभावबिना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ । बजार दुर्घटनामा पर्‍याे भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ । यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ ।’ 

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको विवेकशील साझाको ठहर छ । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग समेत गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया