नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात् ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ ।
कांग्रेस विधानअनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलाे र दाेस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा चुनाव हुने व्यवस्था छ ।
मंगलबार बिहान सार्वजनिक मतपरिणामअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दाेस्रो चरणकाे चुनाव हुने भएकाे हाे ।
सभापतिका लागि कुल ४ हजार ६८१ मत खसेको थियाे । जसमा ७७ मत बदर भएको छ । मतपरिणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी शेखर काेइरालाले १ हजार ७२९ अर्थात् २६.९३ प्रतिशत मत पाएका छन् ।
बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।
सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हाे । देउवा र काेइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ । मतदानकाे समय तय भइसकेकाे त छैन तर आज मंगलबार नै मतदान हुने भनिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।