कार्यकर्तामाथि खनिए देउवा र कोइराला, तपाईंहरूको व्यवहारले मलाई दुःख लागेको छ- देउवा, सुहाउँदो व्यवहार भएन- कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीमा आज विहान आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित कार्यकर्ताले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध उग्र नाराबाजी गरेका छन् । 

पौडेलले कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिहरूलाई चियापानमा बोलाएका थिए । 

महाधिवेशनमा सभापतिको पदको लागि हिजो भएको निर्वाचनमा उम्मेदवारी दिएका कोही पनि विजय हुन नसकेपछि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा सभापतिका दुई उम्मेदवार देउवा र शेखर कोइराला दुवै पौडेलको चियापानमा पुगेका थिए । 

चियापान स्थलमा सुरुमा देउवा पुगेका थिए । देउवालाई नेता पौडेलले स्टेजमा लग्दै गर्दा कार्यकर्ताले देउवा विरुद्ध उग्र नाराबाजी गरेका थिए । 

कार्यकर्ताले उग्र नाराबाजी गरेपछि पौडेलले रोक्न प्रयास गरेका थिए । पौडेल स्टेजबाट चिच्याइरहेका थिए, ‘हल्ला नगर्नोस् साथीहरु...तपाईहरु हल्ला गर्नु भयो...सुन्नुहोस् साथीहरु....हल्ला नगर्नोस् ।’ 

पौडेलले एकछिन चिच्याउँदै हल्ला नगर्न आग्रह गरेपछि कार्यकर्ता नाराबाजी गर्न बन्द गरेका थिए । त्यसपछि सभापति देउवाले चियापानलाई सम्बोधन गर्दै भने, ‘ तपाईंहरुको व्यवहारले मलाई दुःख लागेको छ ।’ 



उनले कार्यकर्तालाई अनुशासित बन्न आग्रह गर्दै नेताहरुलाई सम्मान गर्न सिक्न पनि अनुरोध गरेका थिए । कार्यकर्ताको यस्तो शैलीले देश र पार्टी नबन्ने समेत उनले बताए । निर्वाचनमा जित–हार आफ्नो ठाउँमा भएपनि सबैलाई सम्मान गर्न जान्नुपर्ने भनाई उनको थियो । 

त्यसपछि चियापानलाई सम्बोधन गरेका सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले पनि कार्यकर्ताले देउवालाई गरेको व्यवहार सुहाउँदो नभएको बताए । ‘यस्ता व्यवहार शोभनीय हुँदैन,’ कोइरालाले भने । निर्वाचनमा प्रतिस्पर्धामा रहेपनि एकअर्कालाई सम्मान गर्नुपर्ने उनले जनाए । 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ११:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया