प्रचण्डको अभिव्यक्तिपछि धर्मराएको सेयर बजार अर्थमन्त्रीको वाचापछि सुधारतर्फ

गत साता नेपाली सेयर बजारमा निकै उतारचढाव देखा पर्यो । यसको खास कारण चाहिँ विभिन्न दलका नेताहरुले दिएको यसबारेको अभिव्यक्ति थियो । हो, बजारमा देखिएको स्वभाविक परिवर्तनले यसलाई असर त गर्यो नै, तर साताभर बजार राताम्य हुनुको कारण चाहिँ विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बोली भएको मान्न सकिन्छ । 

सुरुवातमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नकारात्मक बोलेको आरोप लाग्यो । उनले यस्तो आरोप पछि अभिव्यक्ति फेरि सच्याए । तर, गत साताभर केही सिमित कम्पनीको मात्र सेयरको अवस्था राम्रो रह्यो, अन्यको खस्कियो ।

गत साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिले फेरि सेयर बजारमा धक्का पुग्यो । प्रचण्डले एक कार्यक्रममा पूँजी बजारलाई साम्राज्यवादको विकसित रुप भन्ने भावमा टिप्पणी गरेका थिए । उनले पूँजीमाथि पूँजीको लगानीले थप अनुत्पादक मात्र नहुने र यसले गरिबलाई झन् गरिब बनाउने अभिव्यक्ति दिएका थिए । अनि सँगै जोडेका थिए– उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्छ ।

प्रचण्डको यो अभिव्यक्तिलाई जसै सन्चारमाध्यमले प्राथमिकता दिए, त्यसपछि सेयर बजारमा निकै ठूलो भूँइचालो आयो । कतिसम्म भने सरोकारवालाहरुले प्रचण्डको यो अभिव्यक्तिको खण्डन मात्र गरेनन्, यसलार्ई इतिहासकै खराब अभिव्यक्तिका रुपमा पनि चित्रण गरे ।

सरोकारावालाहरु अझ बढी किन त्रसित थिए भने अहिले अर्थ मन्त्रालयको जिम्मेवारीमा उनकै दलका नेता जनार्दन शर्मा छन् । प्रचण्डको अभिव्यक्तिको व्यापक खण्डन र चिन्ता गरिए पछि त्यसलाई गलत अर्थमा लिइएको भन्दै उनको सचिवालयले एउटा प्रेस नोट पनि सार्वजनिक गरेको छ । तर, प्रचण्डले यस्तो भन्नु र यसअघि पनि अर्थमन्त्री शर्मा सेयर बजारबारे सकारात्मक नसुनिनुले लगानीकर्ता डराएका छन् । अर्थमन्त्री शर्माले यसअघि सेयर बजारलाई ‘हावा भरिएको बेलुन’ समेत भनेका थिए ।

त्यसो त अर्थमन्त्रीले यस्तो अभिव्यक्ति दिएको यो पहिलो पटक होइन । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा तथा डा. बाबुराम भट्टराईले पनि सेयरबजार बारे नकारात्मक अभिव्यक्ति दिएका थिए । डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए भने डा. भट्टराईले त यसलाई जुवाघरको संज्ञा दिएका थिए । २०७४ सालमा डा. खतिवडाको अभिव्यक्ति र २०६७ सालमा तत्कालीन अर्थमन्त्री डा. भट्टराईको अभिव्यक्तिले पनि सेयर बजारमा ठूलो संकट ल्याएको थियो ।



फेरि पछिल्लो समय वर्तमान अर्थमन्त्री र उनको दलका अध्यक्ष पनि यसमा सकारात्मक देखिएनन् । अनि सेयर बजारमा गत साता यही कारणले ठूलो ‘प्यानिक’ देखियो ।

माओवादी केन्द्रका प्रचण्ड र प्रभाकर दुवैका अभिव्यक्ति लगानीकर्ताका अनुकूल नहुँदा देखिएको अस्पष्टता मंगलबारबाट भने केही सुधारतर्फ लागेको छ । अर्थमन्त्री शर्माले बजारलाई प्रभावित गर्ने कुनै पनि नीति नआउने स्पष्ट पारेपछि यो सुधार देखिएको हो ।



यो साताको आइतबार ८८ अंकले घटेको सेयर बजार सोमबार पनि ८० अंक हाराहारीले बजारमा गिरावट आयो । एकाएक अर्थमन्त्रीको सान्त्वना दिने अभव्यिक्ति पछि चाहिँ मंगलबार बजारमा ६ प्रतिशतले वृद्धि भयो । त्यसपछि दिनभरका लागि बजार बन्द भयो ।

सेयर बजारबारे गहिरो अध्ययन भएका विश्लेषक रवीन्द्र भट्टराई चाहिँ सेयर बजारबारे राजनीतिक नेतृत्व तथा जिम्मेवार व्यक्तिहरुले अभिव्यक्ति दिँदा समस्या हुनु स्वभाविक भएको बताउँछन् । सरकारले सेयर बजारबारे स्थिर र प्रभावकारी नीति बनाउन नसक्नु र नेता तथा अन्य जिम्मेवार व्यक्तिले यसबारे नकारात्मक अभिव्यक्ति दिनुले बजारमा ठूला तरंग देखिएका हुन् ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया