नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन संयुक्त पहल थालेका छन् ।
निकट भविष्यमा हुने तीन तहका निर्वाचनलाई मध्यनजर गर्दै पौडेल र कोइरालाले १४ औं महाधिवेशनका सभापतिका सवै प्रत्यासीसँग कुरा गरेर पार्टीभित्र एकताका पक्षमा पहल गर्न आग्रह गरेका छन् ।
निर्वाचन प्रक्रियाबाट अलग रहेका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवासहित प्रतिस्पर्धामा रहेका नेताहरुलाई भेटेरै पार्टीभित्र वृहत्तर एकताका लागि थप ध्रुवीकरण नगर्न आग्रह गरेका हुन् ।
वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाका बीचमा तीन तहको निर्वाचनमा विपक्षीहरुसँग प्रतिष्पर्धामा उत्रनका लागि पार्टीभित्रको सद्भाव आवश्यक हुने भन्दै एकताका पक्षमा पहल गर्ने सहमति भएको हो ।
दुवै नेताहरुको सहमति अनुसार अन्य नेताहरुसँग छुट्टाछुट्टै कुरा गरेर सहमति र एकताका लागि स्वस्थ लोकतान्त्रिक अभ्यास गर्न आग्रह गरेका हुन् ।
पौडेल र महामन्त्री निकट एक नेताले भने ‘वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाबीच पार्टीभित्र ध्रुवीकरण नहोस र गुटबन्दी अझ नबढोस् भनेर सल्लाह भएको छ । त्यही सल्लाहअनुसार दुवै नेताले प्रधानमन्त्री देउवा, सभापतिका उम्मेदवार डा.शेखर कोइराला लगायतका नेताहरुलाई सम्पर्क गरेरै एकताका लागि आग्रह गर्नुभएको छ ।’
पौडेल र कोइराला दुवैले पार्टीभित्र देखिएका चुनौती सामना गर्न स्वस्थ लोकतान्त्रिक अभ्यासका लागि आग्रह समेत गरेका छन् । यसपटक निर्वाचनमा दुवै नेता कुनैपनि पक्षमा खुलेर लागेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।