इटहरीका मेयर चौधरीको अर्को फण्डा व्यक्तिगत जग्गामा सम्झौतै नगरी आँखा अस्पताल शिलान्यास
जग्गाधनी भन्छन्– सरकार गुण्डागर्दीमा उत्रियो

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इटहरीमा शिलान्यास गरेको आँखा अस्पतालको जग्गामा विवाद उत्पन्न भएको छ । 
पूर्वप्रधानमन्त्रीले मंगलबार शिलान्यास गरेको जग्गा व्यक्तिगत भएको र व्यक्तिको जग्गा कब्जा गरिएको भन्दै जग्गाधनीहरुले विरोध गरेका हुन् । 

इटहरी १७ लवीपुरमा शिलान्यास भएको जग्गा इटहरी उपमहानगरपालिकालाई दानको रुपमा आएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले उपमहानगरलाई १० कठ्ठा जग्गा दिएकाले त्यही आँखा अस्पताल बनाउन शिलान्यास गरिएको दाबी गरेका छन् ।

इटहरी उप महानगरपालिका, नेत्र ज्योति संघ र सेवा फाउन्डेसनको साझेदारीमा बन्न लागेको इटहरी आँखा अस्पतालको पूर्वप्रधानमन्त्री नेपालले तामाझामका साथ शिलान्यास गरेसँगै जग्गाधनीहरुले विरोध गरेका हुन् । जग्गाधनीहरु अशोक बगेडिया, जेपी अग्रवाल लगायतको व्यपारिक समूहले सो जग्गा ७ वर्षअघि किनेका थिए । 

जग्गामा ५ जनाको स्वामित्व रहेको छ । व्यापारी समूहले किनेको जो जग्गामा पाटर्नरकै बीचमा विवाद रहेको अशोक बगेडियाले बताए । उनले शिलान्यास भएको जग्गा आफूहरुको भएको  र इटहरी उपमहानगरलाई जग्गा नदिएको बताए । 

‘हामीले जग्गा दिएका छैनौँ, व्यक्तिको जग्गामा सरकारले कब्जा गरेर अस्पताल बनाउँछ भने हामी न्याय माग्न जान्छौँ,’ अर्का जग्गाधनी जेपी अग्रवालले पनि अस्पताल बनाउन जग्गा नदिएको बताए ।
 
उनले भने,‘व्यक्तिको जग्गा सरकारले नै कब्जा गर्दै हिँड्छ भने हाम्रो भन्नु केही छैन । हामी न्यायका लागि सरकारविरुद्ध जान्छौँ । उनले आफूहरुले जग्गा दिएको प्रमाण भए लिएर आउनसमेत उप महानगरपालिकालाई चुनौती दिए । 

‘दिएको भए प्रमाण ल्याए हुन्छ, हाम्रो जग्गामा अस्पताल बनाउछु भन्दैमा बनाउन पाइन्छ ? प्रश्न गर्दै उनले थपे, ‘सरकारले सोध्दै नसोधी जग्गा कब्जा गरेर अस्पताल बनाउँछ भने हाम्रो सम्पत्तिमाथिको अधिकार कहाँ गयो ? सरकार गुण्डागर्दी शैलीमा उत्रिएको भन्दै उनले भने, ‘सरकार नै गुण्डागर्दीमा उत्रन्छ भने हामी कहाँ जानु ?’
  
व्यावसायिक प्रयोजनका लागि जग्गा खरिद गरिएको, तर पछि व्यावसायिक योजना अगाडि बढाउने सिलसिलामा विवाद भएपछि जग्गा त्यत्तिकै रहेको अग्रवालले बताए । उनले इटहरी उपमहानगरले आँखा अस्पताल बनाउने भनेर शिलान्यास गरेको  जग्गा आफूहरुको भएको र सो जग्गा बेच्दा पनि नबेच्ने बताए । आफूहरु दान गर्ने कुरा त परै जाओस् बेच्न पनि तयार नभएको उनले बताए । 
 
मेयर चाैधरीले भने अशोक बगडियाले आफू पनि दृष्टिविहीन भएको भन्दै जग्गा दान दिएकाले शिलान्यास गरेको उनले बताए । ‘तीन वर्षअघि नै दिन्छु भनेको हो । त्यही भएर हामीले शिलान्यास गरेका हौँ । अहिले आएर कुरा फेरेर नहुने भन्दै उनले दानमा नदिए किनेर भए पनि आँखा अस्पताल बनाउने बताए । 



‘नदिए के हुन्छ ? उपमहानगरले किनेर भए पनि अस्पताल बनाँउछ । मेयर चौधरीले सो जग्गा उप महानगरको स्वमित्वमा भने नआएको बताए । उनले प्रक्रियामा रहेकाले जग्गा प्राप्ति हुने दाबी गरे । उनले वरिपरिको अरु एक बिघा १५ कठ्ठा जग्गासमेत खोजी गरी २ बिघा क्षेत्रमा अस्पताल  बनाउने बताए ।
 
न छलफल न योजना 

आँखा अस्पताल बनाउने विषयमा उपमहानगरमा छलफल समेत भएको छैन । उप महानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले आँखा अस्पताल बनाउने विषयमा उपमहानगरमा अहिले बजेट पनि नभएको र योजना पनि नरहेको बताइन् । ‘हामीले यस विषयमा छलफल नै चलाएका छैनौँ । बजेट पनि विनियोजन गरिएको छैन । मेयरसाबले कसरी शिलान्यास गर्नुभो उहाँलाई नै सोध्नुहोला ।



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २०:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया