कोइराला परिवार कांग्रेस मूल नेतृत्वबाट १० वर्षबाहिर

नेपाली कांग्रेसको ७५ वर्षे इतिहासमा कोइराला परिवारका चार सदस्यले ४९ वर्ष नेतृत्व गरे । २६ वर्ष मात्रै कोइराला परिवारबाहिरका नेताले कांग्रेसलाई नेतृत्व प्रदान गरेका छन् । 

विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले २५ वर्ष, मातृकाप्रसाद कोइरालाले चार वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए ।

सुशील २०७२ मा दिवंगत भएपछि भने कांग्रेसको नेतृत्व कोइराला परिवारबाट टाढा पुग्यो । अर्थात्, डडेल्धुराका शेरबहादुर देउवा कांग्रेस नेतृत्वमा पुगे, १३औँ महाधिवेशनबाट । 

अहिले १४औँ महाधिवेशनअन्तर्गत सभापतिको दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । तर, देउवा सभापति बन्ने स्पष्ट चित्र देखिएको छ । उनलाई सभापति पदका प्रतिस्पर्धीमध्येका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गरेका छन् । 

देउवाका प्रतिस्पर्धी छन्, डा. शेखर कोइराला । शेखरको सभापतिमा उम्मेदवारी दर्तापछि नै कतिपयले भने कांग्रेस नेतृत्वमा कोइराला परिवारको ‘कमब्याक’ हुने चर्चा गरेका थिए । तर, दोस्रो चरणको निर्वाचनअघि बनेको समीकरणले कोइराला परिवारमा कांग्रेस नेतृत्व पुग्ने सम्भावना न्यून देखिन्छ । 

फेरि, कोइराला परिवारका नेताहरू पनि एक ठाउँमा छैनन् । गिरिजाकी छोरी सुजाता प्रकाशमानको टिममा पुगेकी छिन् । त्यही टिमबाट उनको उपसभाति पदमा उम्मेदवारी परेको छ । उनको हार वा जित के हुन्छ,  निर्वाचन परिणाम कुर्नुपर्ने छ । यसरी सुजता प्रकाशमानको टिममा पुग्दा बिपीका छोरा शशांक पनि प्रस्ट रूपमा शेखरको पक्षमा खुलेका छैनन् ।



मंगलबार पहिलो चरणको निर्वाचनपछि शेखरलाई पत्रकारको प्रश्न थियो, ‘तपाईंलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबाट असहयोग भयो भन्ने छ नि ?’ 

शेखरको जवाफ रह्यो– तपाईंलाई कसरी थाहा भयो ? सहयोग भयो÷भएन भन्ने ? 



१३औँ महाधिवेशनबाट महामन्त्री भएका शशांक अहिले केन्द्रीय सदस्यको दौडमा छन् । उनी शेखरको टिममा छन् । यद्यपि, उनलाई देउवाले पनि टिममा समावेश गरेका छन् । त्यसबारेको जिज्ञासामा उनले नेताहरूले माया गरेको भनेका छन् ।   

शशांकले शेखरलाई खुलमखुला मत मागेनन् । आइतबार साँझ र मंगलबार मध्याह्नको पत्रकार सम्मेलनमा पनि शशांक देखिएनन् । 

यसरी कोइराला परिवार एक ठाउँमा छैनन् भन्ने पुष्टि हुन्छ । हुन त उनीहरूबीच यसअघि पटक–पटक लन्च मिटिङ नभएको होइन । तर, पार्टीको आन्तरिक राजनीतिमा एक ठाउँ हुन सकेनन् । परिणामतः कोइराला परिवारको नेतृत्वमा कांग्रेस नआउने निश्चितजस्तै छ । 

देउवाको वर्तमान कार्यकाल र आगामी कार्यकाल गरी लगभग १० वर्ष कांग्रेसको मूल नेतृत्वबाट कोइराला परिवार बाहिरिने देखिएको छ । 
 

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २०:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया