नेपाली कांग्रेसको आगामि पाँच वर्षका लागि नेतृत्व चयन गर्न भएको महाधिवेशनबाट शेरबहादुर देउवा फेरि एक पटक सभापतिमा निर्वाचित भएका छन् ।
देउवा यसअघि १३ औं महाधिवेशनबाट पनि कांग्रेस सभापतिमा निर्वाचित भएका थिए ।
१३ औं महाधिवेशनको जस्तै १४ औं महाधिवेशनमा पनि सभापतिमा निर्वाचित हुनका लागि देउवालाई दोस्रो चरण कुर्नुपर्यो । काठमाडौंमा भएको अधिवेशनको पहिलो चरणमा देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो ।
कांग्रेसको निर्वाचन समितिले दिएको जानकारीअनुसार दोस्रो चरणमा खसेका मतमध्ये देउवाले २७२४ मत ल्याएका छन् । यो खसेको मतसँग हिसाब गर्दा ५९.५ प्रतिशत हो । उनका प्रतिस्पर्धी शेखर कोइरालाले १८१७ मत ल्याएका छन् ।
यसअघि सभापतिमा उठेका सिंह, निधि, गुरुङको मात्र होइन, शशांक कोइरालाले पनि दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।
कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५७४ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८७ मत ल्याउनु पर्ने थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।