सेन्ट्रल जोनको पदक जित्ने लक्ष्यमा पुरुष भलिबल टोली, कस्तो छ तयारी?

नेपालको भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि तयारी थालेका छन् । पुरुष र महिला दुवै टोलीले तयारी थालेका हुन् । नेपाल भलिबल संघले दुवै टोलीको घोषणासमेत गरिसकेको छ । 

२१ देखि २९ डिसेम्बरसम्म बंगलादेशको ढाकामा हुने यो प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली भाग लिँदै छन् । महिला टोली पुरानो साख जोगाउने प्रयासमा छ । पुरुष टोली भने नयाँ इतिहास रच्ने र राम्रो नतिजा निकाल्ने सोचमा हुनेछ । 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि ठूला प्रतियोगितामा भाग नलिएको नेपाली भलिबल टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् । संयोगबस महिला र पुरुष टोलीको सेन्ट्रल जोन प्रतियोगिता सँगै हुन लागेको हो । 

महिला टोली डिफेन्डिङ च्याम्पियन हो भने पुरुष टोली भने २०१९ घरेलु कोर्टमा भएको सेन्ट्रल जोन प्रतियोगितामा पाँचौं स्थानमा आएको थियो । पुरुष टोलीले हालसम्म कुनै भलिबल उपाधि हात पार्न सकेको छैन । यसो भन्दै गर्दा २०१७ मा माल्दिभ्समा भएको एभिसी कपमा भने नेपालले कास्य पदक हात पारेको हो । 

नेपालले डच प्रशिक्षक हान एबिङको प्रशिक्षणमा २०१९ मा पनि नेपालले सेन्ट्रल जोन प्रतियोगिता खेलेको थियो । उनी आसन्न सेन्ट्रल जोनमा पुरुष टिमले विगतभन्दा राम्रो नतिजा पस्कनेमा विश्वस्त छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको प्रशिक्षणका क्रममा प्रशिक्षक एबिङले पत्रकारसँग भन, ‘हामी धेरैपछि प्रशिक्षणमा र खेलमा फर्कन पाएका छौं । निकै खुसी र उत्साहित छु । खेलाडीहरूमा पहिलेभन्दा सुधार पाइएको छ । उनीहरूको फिटनेस पनि राम्रो छ । हामी राम्रो नतिजा पस्कने सोचमा छौं ।’ 

खेलाडीमा फिटनेसको समस्या पनि धेरै हदसम्म सुधार भएको उनको भनाइ छ । २ वर्षको लकडाउन र ब्रेकपछि पुनः मैदानमा फर्किएको टोलीले प्रशिक्षक एबिङको आगमनसँगै तयारी राम्रो गरेको छ ।   
‘हाम्रा प्रतिद्धन्द्धीको खेल पनि हामीले निरीक्षण गर्नुपर्छ, श्रीलंका र माल्दिभ्सले खेलेको मैत्रीपूर्ण खेलमा श्रीलंका माल्दिभ्सभन्दा निकै बलियो देखियो । हामीले यसै अनुरूप हरेक प्रतिद्धन्द्धीको कमजोर र सबल पक्षको ज्ञान राख्नुपर्छ,’ प्रशिक्षक एबिङले भने ।



उनले नेपाली टिमको डिफेन्समा अहिले विगभन्दा समस्या नहरेको पनि बताए । ‘नेपालको डिफेन्समा अहिले खासै समस्या छैन । भएका समस्याहरूलाई सुधार्दै लैजानुपर्छ,’ प्रशिक्षक एबिङले भने ।

लामो समयको अन्तरालमा नेपालले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसकारण नेपाली पुरुष टिमले उपाधि जित्न भने सजिलो नरहेको कुरामा प्रशिक्षक एबिङ सहमति जनाउँछन् । 



उनी भन्छन्, ‘हाम्रो लागि यो प्रतियोगिता ठूलो चुनौती हो । कुनै पनि उपलब्धि एकै प्रयासमा हात पार्न सकिँदैन । यसपटक उपाधि नै जितेर ल्याउँछौँ त भन्न सक्दिन तर राम्रो नतिजा पस्कने कोसिस भने पक्कै हुनेछ ।’ उनका अनुसार नेपाली टोलीमा राम्रो ब्लकर तथा डिफेन्डर छन् । त्यो मात्रै नभएर नेपालसँग भएको अवसर तथा राम्रो पक्षबाट फाइदा निकालेर नेपालले खेल्नुपर्नेमा उनको जोड छ ।  

यसपटक नेपालका लागि नयाँ खेलाडी पनि बन्द प्रशिक्षणमा रहेका थिए । युवा खेलाडीको विषयमा प्रशिक्षक एबिङ भन्छन्,‘नेपालसँग राम्रा युवा खेलाडीहरु छन् । जसले देशका लगि राम्रो खेल्न सक्छन् ।’ 

‘नेपालसँग भएका खेलाडीको आधारमा राम्रो नतिजासहित प्रतिस्पर्धा अन्त्य गर्नेछौं,’ उनले भने, ‘यो खेलमा हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं, आशा गरौं नतिजा पनि सोही अनुरूप हुनेछ ।’ 

प्रशिक्षक जस्तै टोलीका कप्तान इम राना मगर पनि यस वर्ष टोलीले राम्रो प्रदर्शन दिनेमा विश्वस्त रहेका छन् । यसपालि भलिबल टोलीलाई प्रशिक्षणका लागि पर्याप्त समय नरहेको पनि उनी बताउँछन् । ‘छोटो समय भएका कारण पर्याप्त प्रशिक्षणको समय भने मिलेन,’ उनले भने । प्रशिक्षकले खेलाडीलाई फिट छन् भनिरहेका बेला कप्तान भने पहिलोको जस्तो फिटनेस राम्रो नरहेको बताउँछन् । ‘२ वर्ष जस्तै कोर्ट बाहिर बसेका कारण फिटनेसमा पहिलाको जस्तो भने छैन, अन्य तयारी भने राम्रो छ । हामीले सक्दो प्रयास गर्नेछौं । टोलीमा समझदारी राम्रो छ त्यसैले राम्रो नतिजा आशा गरेका छौं,’ इमले भने ।

उनले अगाडि भने, ‘टेक्निकल पार्टमा प्रशिक्षकले हेरिरहनु भएको छ । विदेशी प्रशिक्षकबाट धेरै कुरा सिक्न पाइ रहेका छौं । अन्य देशका खेलाडीको स्तर कस्तो छ भनेर हामीलाई थाहा छैन । श्रीलंका र माल्दिभ्सले खेलेको मैत्रीपूर्ण खेल हेरेर श्रीलंका निकै बलियो टोली हो जस्तो लाग्यो ।’  

अन्य खेलकुद जस्तै भलिबलमा पनि धेरै समस्या छन् । महत्वपूर्ण प्रतियोगिता खेल्नुअघि भलिबल टोलीले पर्याप्त मैत्रीपूर्ण खेल खेल्न पाएको छैन । जसकारण पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजाको आशा गर्दागर्दै पनि उपाधि जित्न कठिन भइरहेको कप्तान राना बताउँछन् । ‘नेपालमा स्पोन्सर नै छैन । विदेशी खेलाडीको स्तरसँग हाम्रो स्तर नमिल्नुको ठूलो कारण हो स्पोन्सर र एक्पोजरको कमी हो,’ उनले भने, ‘पहिलेभन्दा अहिलेको टोली राम्रो छ । नयाँ खेलाडीमा नयाँ ऊर्जा छ, टेक्निकल ज्ञानमा पनि उनीहरू राम्रो छन् ।’ 

नेपालको पुरुष भलिबल टोलीले सेन्ट्रल जोनमा हालसम्म कास्यभन्दा ठूलो पदक जित्न सकेको छैन । यद्यपि योपटक भने टिम उपाधि जित्ने लक्ष्यका साथ केही दिनमा बंगलादेश उड्ने तयारीमा छ ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ९:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया