निर्मला पन्त हत्या प्रकरण
के निर्मलाका बुबाकाे मानसिक सन्तुलन गुमेकाे हाे ?
उपचारका लागि काठमाडाैं ल्याइँदै, मनोविद् भन्छन्: मानिसक सन्तुलन गुमेको होइन
निर्मला पन्तका अामाबुबा । फाइल तस्वीर ।

काठमाडौं– पछिल्लो समय सामाजिक सन्जालमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु यज्ञराजको एउटा भिडियो भाइरल भएको छ । भिडियोमा निर्मलाका बुबाको मानसिक स्वास्थ्य अवस्था बिग्रिएको सहजै खुट्ट्याउन सकिन्छ । 

१० साउनमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवार अहिले न्याय माग्दै अनिश्चितकालिन धर्नामा छन् ।

धर्ना बसेकै ठाउँमा पनि निर्मलाका बुबा यज्ञराजले अस्वभाविक क्रियाकलाप गरेको सामाजिक सन्जालमा भाइरल भइरहेका भिडियोमा देख्न सकिन्छ ।

स्वास्थ्य अवस्था राम्रो नभएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । यो घटनामा सुरु देखि नै अपराधी पक्राउ गर्नु पर्ने र निर्मलाको परिवारलाई न्याय दिनु पर्ने आवाज उठाइरहेकी अधिकारकर्मी शारदा चन्दका अनुसार यज्ञराजलाई शनिबार (आज) नै काठमाडौं ल्याउने तयारी गरिएको हो । 

‘उहाँको अवस्था बिग्रिएको छ,’ उनले फरकधारसँग भनिन्, ‘आजै काठमाडौं लैजाने तयारी हो, कहाँ उपचार गर्ने भन्ने चाहिँ निश्चित भइसकेको छैन ।’

यज्ञराजका भतिजा लक्ष्मीप्रसाद पन्तले तीन दिनयता यज्ञराजको स्वास्थ्य अवस्था झन् बिग्रिएको बताएका छन् । 



लक्ष्मीले यज्ञराजको उपचार गर्न आफूहरुसँग आर्थिक अभाव भएको पनि बताए । ‘रकम जुटाउन पहल भइरहेको छ,’ उनले भने ।

परिवारले उपचारका लागि काठमाडौं ल्याउने तयारी गरे पनि यज्ञराज चाहिँ आफूहरुले न्याय नपाएसम्म त्यहाँबाट काठमाडौं आउन तयार नरहेको अडानमा अडिग छन् ।



‘उहाँ अनसनबाट उठ्नै मान्नु भएको छैन,’ लक्ष्मीले भने ।

 

के यज्ञराजको मानसिक सन्तुलन गुमेको हो ?

विभिन्न सन्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारण भइरहेका भिडियोमा यज्ञराजले अस्वभाविक क्रियाकलाप गरेको देखिन्छ । 

त्यसैले अधिकांशले सामाजिक सन्जालमा टिप्पणी गरेका छन्– निर्मला पन्तका बाबुको मानसिक सन्तुलन गुमिसक्यो । 

‘मानसिक सन्तुलन गुमे/नगुमेको कुरा त परीक्षणपछि मात्र थाहा हुन्छ,’ मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘भिडियो हेर्दैमा यस्तो निक्र्योल गर्न सकिँदैन ।’ 

ठूलो मानसिक आघात परेका व्यक्तिको मानसिक सन्तुलन गुम्ने संभावना बढी हुने चाहिँ सत्य हो । पाटन मानसिक अस्पतालका मनोविष्लेसक डा अनन्तराज अधिकारीका अनुसार ठूलो दुखद घटनापछि मानिसमा डर र त्रास, पीडा र उत्पीडन बढी हुन्छ । उनका अनुसार यसले मानिसलाई डिप्रेस्ड बनाउँछ र उसले मानसिक सन्तुलन गुमाउने खतरा बढ्दै जान्छ ।

‘छोरी गुमाउनुको पीडा र त्यसपछिका घटनाक्रमले यज्ञराज पन्तलाई यो अवस्थामा पुर्याएको हो,’ आचार्य भन्छन्, ‘उहाँको अवस्था सामान्य त होइन तर यसैलाई मानसिक सन्तुलन गुमाएको भन्न पनि मिल्दैन ।’

भिडियोमा देखिएको यज्ञराज पन्तको अवस्था हेर्दा उनलाई ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर’ (पिटियसडि ) हो कि भन्ने शंकासम्म गर्न सकिने तर्क छ अधिकारीको । 

समाजिक सञ्जाल र मिडियामा यस्ता भिडियो सार्वजनिक गर्दा आम मानिसको मनोविज्ञानमा नकारात्मक असर पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘यस्ता भिडियो हेरेर, मानिसहरु आवेगमा आउन सक्छन् । उनीहरु आक्रोशित हुने, कसैको विश्वास नगर्ने हुन सक्छन् ।’

अर्कोतर्फ अहिले नै यज्ञराज पन्तको मानिसक सन्तुलन गुमेको भन्दै उनका भिडियो सार्वजनिक गर्दा उनको सामाजिक जीवनमा पनि असर पर्न सक्ने आचार्य बताउँछन् ।

‘भोली यज्ञराज पन्त, अहिले सार्वजनिक भएका भिडियो हेरेरै विक्षिप्त पनि हुनसक्छन्,’ उनले भने, ‘यस्ता भिडियोले उनको सामाजिक मयार्दामा पनि असर पुग्छ ।’

यज्ञराज पन्तको भिडियो हेरेर भावुक र कमजोर मनोबल भएका मानिसहरुको मानिसक अवस्थामा खलल पुग्न सक्ने संभावना पनि हुने उनको बुझाई छ ।

  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १३:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया